पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय :राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताउनुभएको छ ।
महाशिवारत्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै उहाँले भन्नुभयो, “नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूहरूको लागि पनि गौरवको विषय हो ।”
उहाँले हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको उल्लेख गर्नुहुँदै आराध्यदेव श्री पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको बताउनुभयो । राष्ट्रपति पौडेलले महाशिवरात्री पर्व, २०८१ ले हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
“महाशिवरात्रीको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवर्द्धन गर्न प्रण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । काठमाडौं उपत्यकाको जलाधारका रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो ।”


प्रतिकृया दिनुहोस्