‘विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ गलत’

‘विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ गलत’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनुभएको छ ।

एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएका कारण देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताउनुभयो ।

महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको भन्दै विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको धारणा राख्नुभयो । उहाँले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढी हुँदै गएपछि अवसरवाद जन्मिने गरेका भन्दै त्यसलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

कुनै पनि सङ्गठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने धारणा राख्दै महासचिव पोखरेलले बलियो साङ्ठनिक शक्ति आवश्यक रहेको बताउनुभयो । उहाँले प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनुपर्ने बताउनुभयो । “नेपालको भूगोल सुहाउँदो प्रविधि र यन्त्र उपकरण उत्पादन र प्रयोगले देशले तीव्र विकास हासिल गर्न सकिन्छ । पुँजी निर्माणबिना राष्ट्रिय पुँजी बन्दैन, त्यसैले नेपालीको बचत संस्कृति अति कमजोर रहेको र यसमा सुधार गरी बचत संस्कृति विकास गर्नुपर्ने आवश्यकता छ”, महासचिव पोखलको भनाइ थियो ।

लोकप्रिय