आफ्ना लागि होईन, देश र समाजको लागि बाँच्नुस् :अध्यक्ष बिजुक्छें

आफ्ना लागि होईन, देश र समाजको लागि बाँच्नुस् :अध्यक्ष बिजुक्छें

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले आफ्ना लागि नभई देश र समाजका लागि बाँच्ने भावना बोकेर अगाडि बढ्न नेमकिपाका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेमकिपाको आठौँ महाधिवेशनको दोस्रो दिन भक्तपुरमा जारी बन्द सत्रमा महाधिवेशन प्रतिनिधि एवं जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष बिजुक्छेंले राजनीतिक प्रशिक्षण दिँदै यस्तो भन्नुभएको हो ।

सच्चा कम्युनिष्टले आफ्ना र आफ्ना छोराछारीका लागि नभई देशको आमूल परिवर्तनका लागि सोच्नुपर्ने उहाँको भनाइ थियो । “कम्युनिष्टमा त्याग र समर्पणको भावना हुनुपर्छ, आफ्ना छोराछोरीका लागि नभई सिङ्गो देश र समाजका लागि सोच्नुपर्छ । वर्गविहीन समाजको स्थापनामा लाग्नुपर्छ । उत्पादनका सामानलाई सामाजिकीकरण र समाजका लागि बाँच्ने मुख्य भावना हुनुपर्छ । सांस्कृतिकस्तर उठाउने, समाजवादको स्थापना अन्तिम लक्ष्य हुनुपर्छ । तपाईंहरु यहीँ बाटोमा हिँड्नुपर्छ”, अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
यही फागुन १९ गतेसम्म सञ्चालन हुने पार्टीको आठौँ महाधिवेशनमा सहभागी ५० जिल्लाबाट आएका करिब तीन सय महाधिवेशन प्रतिनिधिले १९ गते पार्टीको नयाँ नेतृत्व चयन गर्ने उहाँले बतउनुभयो ।

अध्यक्ष बिजुक्छेको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवा भएको थियो । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको जानकारी दिनुभयो ।

लोकप्रिय