गाजामा पाँच लाख मानिस भोकमरीको खतरामा, विगत १९ महिनादेखि जारी युद्वका कारण
काठमाडौं । गाजामा विगत १९ महिनादेखि जारी युद्धका कारण पाँच लाख मानिसहरू भोकमरीको खतरामा परेका छन् ।
इजरायलले विगत तीन महिनादेखि गाजा पट्टीमा अन्न आपूर्तिमा प्रतिबन्ध लगाएपछि भोकमरीको संकट चरममा पुगेको मिडिया रिपोर्टमा उल्लेख छ । मे १२ मा, संयुक्त राष्ट्र संघले गाजाको अवस्थाको बारेमा सार्बजनिक गरेको प्रतिवेदनमा यदि इजरायलले प्रतिबन्धहरू नहटाएमा गाजामा प्रत्येक पाँच जनामा एक जना भोकमरीको शिकार हुन सक्ने बताएको छ ।
यसबाहेक २१ लाख मानिसहरूले अनिकालको सामना गर्नुपर्ने हुन सक्छ । इजरायलले मार्च २०२५ मा गाजामा खाद्यान्न र इन्धन आपूर्ति बन्द गर्ने निर्णय गरेको थियो । इजरायली सरकारले यसले हमासलाई कमजोर बनाउने दाबी गरेको थियो । सन् २०२३ को अक्टोबरमा सुरु भएको इजरायल(हमास द्वन्द्वमा हालसम्म ६१ हजारभन्दा बढी मानिस मारिएको दाबी गरिएको छ ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले खाद्यान्नको भण्डार सकिएको बताएको छ । धेरैजसो बेकरी र दानद्वारा सञ्चालित भान्साहरू बन्द भएका छन् । गाजाका लागि संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमका निर्देशक एन्टोइन रेनार्डका अनुसार, यस क्षेत्रको जनसंख्यालाई खुवाउन आवश्यक पर्ने खाद्यान्न इजरायल, इजिप्ट र जोर्डनका गोदामहरूमा थुनिएका छन् । यी गोदामहरू गाजाबाट ४० किलोमिटर टाढा छन् । रेनार्डले गाजामा विश्व खाद्य कार्यक्रमका गोदामहरू खाली छन् र एजेन्सीले अब १० लाख मानिसहरूलाई खाना उपलब्ध गराउनुको सट्टा केवल दुई लाख मानिसहरूको लागि मात्र खाना तयार गर्न सक्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघ र युरोपेली देशहरूले गाजा पट्टीमा भोकमरी र अनिकालको अवस्थालाई सम्बोधन गर्न इजरायललाई गाजामा खाद्यान्न आपूर्तिमा लगाइएको प्रतिबन्ध तुरुन्तै हटाउन माग गरेका छन् । यदि इजरायलले सैन्य कारबाही बढायो भने, धेरैजसो मानिसहरूले खाना, पानी, आश्रय र औषधिको पहुँच पाउने छैनन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मे १३ मा एक विज्ञप्तिमा हमासलाई नष्ट गर्न लडाईं जारी राख्ने बताएका थिए । अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा खाना पुर्याउने नयाँ योजनाको सुझाव दिदै निजी संस्थाहरूले छानिएका स्थानहरूमा खाना वितरण गर्ने बताए । संयुक्त राष्ट्र संघले यो योजनालाई अस्वीकार गर्दै यस योजनाले मानिसहरूलाई खाना पाउन लामो दूरी यात्रा गर्नुपर्ने बताएको थियो ।
हमासको आलोचना गर्दै ट्रम्पले गाजामा हमासका नेताहरूले राजनीतिक उद्देश्यका लागि निर्दोष मानिसहरूलाई लक्षित गरिरहेसम्म प्यालेस्टिनीहरूको जीवनमा सुधार हुन नसक्ने दाबी गरेका छन् ।


प्रतिकृया दिनुहोस्