पत्रकार र स्थानीय सरकारबीच सम्बन्ध जोड्दै महासंघ
काठमाडौ । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले मिडिया विकासका लागि अभियान चलाएको छ । पछिल्लो समय साना लगानीका पत्रपत्रिका तथा स्वरोजागरमूलक मिडिया जीवन मरणको दोसाँधमा रहेका छन् । नयाँ प्रविधिको प्रयोगले लामो समयदेखि प्रकाशित हुँदै आइरहेको साप्ताहिक, पाक्षिक र मासिक जस्ता प्रीन्ट पत्रिकाहरु संकटमा पर्न थालेपछि पत्रकार महासंघ काठमाडौ शाखाले मिडिया बचाउ अभियानलाई तिब्रता दिएको छ ।
नेपालको इतिहासलाई हेर्ने हो भने निरंकुश शासकहरुले शासन गर्दै आइरहेका इतिहास छ । राणा, राजादेखि पञ्चायतसम्म सबैले जनतामाथि दमन, शोषण, अन्याय, अत्याचार, जालझेल गरेरै सत्तामा रजगज गरेका थिए । तत्कािलन समयमा निरंकुश र जनविरोधी शासकहरुका विरुद्ध जनतालाई जागरुक गराउने मुख्य भूमिका खेल्दै लोकतन्त्र र गणतन्त्र स्थापनासम्म नै राजनीतिक दलहरुलाई मिसन पत्रकारितामार्फत सहयोग गर्दै आइरहेका छापा पत्रकारिता अहिले संकटमा परेको अवस्था छ ।
नेपाल पत्रकार महांसंघ काठमाडौ शाखाको मुख्य उदेश्य तिनै मिसन पत्रकारिता गर्दै आएका साना लगानीका पत्रपत्रिका र अनलाइन मिडियाको अस्तित्व रक्षा गर्ने रहेको अध्यक्ष शोभा अर्यालको भनाई छ । नेपाल पत्रकार महासंघ काठमाडौ शाखामा वरिष्ठ पत्रकार किशोर नेपाल देखि भर्खरै पत्रकारिता क्षेत्रमा प्रवेश गरेका पत्रकारहरुसमेतको सदस्यता रहेको छ । काठमाडौ शाखा देशको सबैभन्दा बढी पत्रकार भएको शाखा हो । शाखामा १ हजार भन्दा बढी सदस्य रहेका छन् । शाखामा आवद्ध रहेका अधिकांश सदस्यहरु साना लगानीका मिडियामा आवद्ध रहेका छन् । शाखाले आफ्ना सदस्यहरुको हित संरक्षण तथा प्रवद्र्धनमा अभियान चलाएसँगै अहिले शाखाका सदस्यहरुले केही राहतको महसुस समेत गरेका छन् ।
शाखाले पहिलो चरणमा काठमाडौ जिल्लामा रहेका ११ पालिकाका जनप्रतिनिधिहरुलाई भेटेरै ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका अध्यक्ष शोभा अर्यालको नेतृत्वमा ११ वटै पालिकामा पुगेर ध्यानार्षण पत्र बुझाइएको हो । नागार्जुन नगरपालिकाबाट सुरु भएको अभियान काठमाडौ महानगरपालिकामा गएर टुँगिएको छ । नेपाल पत्रकार महासंघले काठमाडौ शाखाले चालेको यो अभियानले पत्रकार र स्थानीय सरकारको सम्बन्धमा सुधार आएको छ ।
जनप्रतिनिधिहरुसँगको भेटको क्रममा अधिकांश पालिका प्रमुखहरुले काठमाडौ शाखाले अघि सारेको मुद्दालाई कार्यान्वयनमा लैजाने बचनवद्धता गरेका छन् । पछिल्लो सयम स्थानीय तहहरुमा स्पष्ट सञ्चार नीति बन्न नसकेको अवस्था छ । विगतमा स्थानीय सरकारले पत्रकार महासंघ लगायत सञ्चारविज्ञहरुसँग छलफल गरेर अघि बढ्न नसक्दा स्थानीय सरकारले सञ्चार क्षेत्रबाट बलियो साथ सहयोग पाउन नसकेको यो अभियानको क्रममा बुझिएको छ । पालिकाले सञ्चार क्षेत्रमा केही रकम खर्च गरिरहेको भएपनि पालिकाको असल अभ्यास जनतासामू पुग्न नसकेको गुनासो जनप्रतिनिधिहरुको छ । पत्रकारले सत्यतथ्य नबुझी एकतर्फी समाचार प्रकाशित हुँदा आफूँहरु झुठा समाचारको शिकार बनिरहेको गुनासो समेत जनप्रतिनिधिहरुको रहेको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले काठमाडौका ११ वटै पालिकामा पुगेर जनप्रतिनिधिसँग भेटघाट गरी मिसन पत्रकारिता गरिरहेको साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिकाहरुको हित संरक्षण गर्न उपर्युक्त विज्ञापन नीति बनाउन र सञ्चारकर्मीहरुको क्षमता बृद्धिका लागि तालिमका लागि आवश्यक बजेट विनियोजन गर्न, पालिकाले गर्ने हरेक गतिविधिमा पत्रकार महासंघलाई जोड्नुपर्ने लगायतका ७ बुँदे ध्यानाकर्षण गराएको हो ।
मिसन पत्रकारिताको अस्तित्व रक्षा गर्ने अध्यक्ष अर्यालको उद्घोष
महासंघका अध्यक्ष शोभा अर्यालले पालिकाहरुमा ध्यानाकर्षण बुझाउने कार्यक्रम मात्र नभई कार्यान्वयन नहुन्जेल नियमित फलोअप गर्ने बताइन् । उनले मिसन पत्रकारिताकै आडमा लोकतान्त्रिक गणतन्त्र स्थापित भई नयाँ संविधान निर्माण भएको र यही संविधान अनुसार मुलुकमा तीन तहको सरकारहरु निर्माण भएको हुँदा स्थानीय सरकारले साना तथा स्वरोजागरमुखी पत्रपत्रिका, अनलाइनहरुको सुरक्षा जिम्मेवारी लिनुपर्ने बताइन् । अध्यक्ष अर्यालले महासंघको ध्यानाकर्षण पत्रलाई पालिकाहरुले गम्भीरतापूर्वक लागू गर्नेमा विश्वस्त रहेको बताइन् ।
नेपाल पत्रकार महासंघसंघले शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, चन्द्रागिरी नगरपालिका र काठमाडौ महानगरपालिमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।


प्रतिकृया दिनुहोस्