हमासका गाजा प्रमुख सिनवारलाई मारेको इजरायलको दाबि
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो सेनाले हमासका गाजा प्रमुख मोहम्मद सिनवारलाई मारेको बताएका छन् ।
मोहम्मद सिनवार इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए र पूर्व हमास नेता याह्या सिनवारका भाइ थिए । दक्षिणी शहर खान युनिसको युरोपेली अस्पतालको आँगन र वरपरको क्षेत्रमा मोहम्मद सिनवारलाई लक्षित गरी ठूलो आक्रमण गरिएको थियो । यस आक्रमणमा हमासको ‘भूमिगत पूर्वाधार’ ध्वस्त भएको थियो ।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले त्यतिबेला २८ जनाको मृत्यु भएको जानकारी दिएको थियो । हमासले सिनवारको मृत्युको पुष्टि वा अस्वीकार गरेको छैन । इजरायली सैनिकहरूले गत वर्ष अक्टोबरमा याह्या सिनवारको हत्या गरेका थिए । ७ अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको मास्टरमाइन्ड मानिएको थियो ।
६ सय दिनअघि इजरायलमा हमासको आक्रमणमा लगभग १२ सय जना मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो । यस आक्रमणको प्रतिक्रियामा, इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसबेलादेखि गाजामा कम्तिमा ५४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।


प्रतिकृया दिनुहोस्