उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्यौट
काठमाडौं । उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ तेस्रो सातासम्म करिब ७९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।
उच्च अदालत सुर्खेतद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘अदालतको काम कारबाहीका सम्बन्धमा पत्रकारसँग अन्तरक्रिया’ मार्फत गत वर्षबाट सरी आएका एक सय ६२ र चालु आवमा दर्ता भएका छ सय १३ गरी छ सय नौ मुद्दामा ७८ दशमलव ५८ प्रतिशत मुद्दा फर्छ्यौट भएको अदालतका न्यायाधीश मातृकाप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार हालसम्म करिब ७९ प्रतिशत फछर्यौट भए पनि यो वर्षको मसान्तसम्म ८५ प्रतिशत मुद्दा फर्छ्यौट गरिने लक्ष्य राखिएको छ ।
न्यायाधीश भण्डारीले पुनरावेदनअन्तर्गत देवानी ८५, सरकारवादी फौजदारी पाँच सय ४१, दुनियाँवादी फौजदारी ४४ गरी छ सय ७०, रिट ९४ र सुरु मुद्दा ११ गरी सात सय ७५ मुद्दामा छ सय नौ फछर्यौट भएको र एक सय ६६ फर्छ्यौट हुन बाँकी रहेको जनाए।
त्यसैगरी, प्रतिवेदनअन्तर्गत मुलुक फौजदारी कार्यविधि संहिताको ७३ नम्बरबमोजिम एक सय ३५ र मुलुकी देवानी कार्यविधि संहिताको एक सय ५७ नम्बरबमोजिम १७ मुद्दा गरी एक सय ५२ मा एक सय २९ फर्छ्यौट र १५ फर्छ्यौट हुन बाँकी रहेको उनले बताए।


प्रतिकृया दिनुहोस्