लोककल्याकारी विज्ञापनवापतको रकम भुक्तानीमा सँधै झमेला, तत्काल समस्या समाधान नगरे संघर्षमा उत्रने अध्यक्ष अर्यालको चेतावनी

लोककल्याकारी विज्ञापनवापतको रकम भुक्तानीमा सँधै झमेला, तत्काल समस्या समाधान नगरे संघर्षमा उत्रने अध्यक्ष अर्यालको चेतावनी

 

काठमाडौ । वि.स. २०१६ देखि पत्रपत्रिकाहरुले निरन्तर रुपमा लोककल्याणकारी विज्ञापन पाइरहेको भएपनि पछिल्लो समय रकम भुक्तानीमा समस्या हुन थालेको छ । चालु आर्थिक वर्षमा वैशाखदेखि नै विज्ञापनवापत्को रकम भुक्तानी हुन सकेको छैन भने गएको वर्षहरुमा पनि पत्रपत्रिकाहरुले यस्तै खाले बजेट अभावको सामना गर्नुपरेको थियो ।
यस विषयमा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले विज्ञापन बोर्डमा दोस्रो पटक नियुक्त भएका अध्यक्ष लक्ष्मण हुमागाईंलाई शुक्रबार भेटेर ध्यानाकर्षण गराएको छ । जेष्ठ पत्रकारहरुसहित शाखाका अध्यक्ष शोभा अर्यालको नेतृत्वमा गएको टोलीले अध्यक्ष हुमागाईंलाई भेटेर यो समस्या बारम्बार बल्झिएकोले दीर्घकालिन रुपमा समाधान गर्न र रोकिएको रकम तत्काल व्यवस्था गर्न आग्रह गरेका छन् ।
शाखाका अध्यक्ष शोभा अर्यालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनवापत्को रकम भुक्तानीमा देखिएको समस्या तत्काल समाधान नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
उनले लोकतन्त्र स्थापनाका लागि कलम चलाउँदै दलहरुसँगै संघर्षमा उत्रिएका छापा पत्रकारिता जीवन मरणको दोसाँधमा रहेकोले त्यस्ता पत्रपत्रिकालाई संरक्षण गर्ने दायित्व सरकारको भएपनि त्यसो हुन नसकेको र दशकौँदेखि पाइरहेको विज्ञापन्वापत्को रकम भुक्तानीमा समेत अवरोध देखिएकोले यो समस्या तत्काल समाधान गर्न सरकारसमक्ष माग गरेकी छन् ।
पत्रकार महासंघसँगको भेटमा अध्यक्ष हुमागाईंले सरकारले विज्ञापन बोर्डमा कम बजेट पठाउँदा यो समस्या आएको बताए । उनले भने, ‘प्रत्येक आर्थिक वर्षको अन्त्यमा रकम अभावका कारण पत्रपत्रिकाहरुले पाउनुपर्ने रकम भुक्तानी हुन नसकेको हो ।’ उनले आगामी आर्थिक वर्षका लागि पनि विज्ञापन बोर्डले माग गरेभन्दा कम बजेट विनियोजन भएको जानकारी गराउँदै समस्या आगामी आर्थिक वर्षमा पनि पुन दोहोरिने जानकारी गराए ।
पत्रपत्रिकाहरुले लोककल्याणकारी विज्ञापन प्रकाशित गरेवापत् पाउने रकम अभावका कारण पत्रकारहरुले पटक पटक सास्ती खेप्नु परेको छ । सरकारले नियमित रुपमा प्रकाशित हुँदै आइरहेका पत्रपत्रिकाहरुलाई प्रेस काउन्सिल नेपालको वर्गीकरणको आधारमा विज्ञापन बोर्डमार्फत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको भएपनि केही समय यता रकम अभाव देखाउँदै विज्ञापनवापत्को रकम समयमै भुक्तानी हुन नसकेपछि पत्रपत्रिकाहरु समस्यामा पर्न थालेका छन् ।
प्रेस काउन्सिल नेपालको वर्गीकरणमा देशभरबाट प्रकाशित हुने दैनिक, साप्ताहिक, पाक्षिक,  मासिक र द्वैमासिकलगायत हाल ९ सयको हाराहारीमा पत्रपत्रिका वर्गीकरणमा रहेका छन् ।

लोकप्रिय