बाढीमा फसेका व्यक्तिहरुको उद्धार
काठमाडौं । ढुंगागिट्टी निकाल्न्को लागि काभ्रेको नमोबुद्ध नगरपालिका–५ लास्कोटस्थित रोशी खोलाको बाढीमा फसेका ५ जनालाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । उनीहरुलाई रातको १२ बजे नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा टिपर र लोडरसहित सकुशल उद्धार गरीएको हो । खोलामा गएकाहरु एक्कासी बाढी आएपछि फसेका थिए ।
तेमाल गाउँपालिका–५ गिम्दीका ४२ वर्षीय सन्जय लामा, तेमाल गाउँपालिका ५ का ३२ वर्षीय रेबन तामाङ, नमोबुद्ध नगरपालिका–५ डाँडागाउँका १९ वर्षीय मुस्कान तामाङ, ओखलढुंगा घर भई नमोबुद्ध नगरपालिका–५ डाडागाउँ बस्ने २१ वर्षीय सागर राई र डोजर चालक दोलखाको भिमेश्वर नगरपालिका घर भई हाल डाँडागाउँ बस्ने २९ वर्षीय समिर तामाङ रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गरेता पनि त्यसको वेवास्ता गर्दै उनीहरु ढुंगागिट्टी निकाल्ने उद्देश्यले राति खोलामा जाँदा फसेका थिए । उद्धार गर्न सुरक्षाकर्मीहरु सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएका छन् ।
रातको समयमा भंगालोमा फसेका थिए, त्यसको जानकारी कटुन्जेबेंसी प्रहरी चौकीबाट प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपालको अस्थायी सुरक्षा बेस (आईटी पार्क) पनौतीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिमसेन के.सी.को नेतृत्वमा १० जना र सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा थप ११ जनाको टोली खटिएको थियो ।
टोलीले अप्पर रिभर क्रसिङ्ग विधि र रोप रेस्क्यु विधि प्रयोग गरी उनीहरुको एउटा लोडर र एउटा टिपर सकुशल उद्धार गरीएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्