भरतपुर महानगरको बजेट पारित

भरतपुर महानगरको बजेट पारित

भरतपुर । आगामी आर्थिक वर्षका लागि भरतपुर महानगरपालिकाले ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको छ।

नगरसभामा उपमेयर चित्रशेन अधिकारीले आन्तरिक आय १ अर्ब ८० करोड रुपैयाँसहित अन्तरसरकारी वित्तीय हस्तान्तरण, संघ तथा प्रदेश राजश्व बाँडफाँड जनसहभागिता, बैंक मौज्दात, सडक बोर्डबाट प्राप्त हुने रकमबाट बजेटको कार्यान्वयन गरिने बताए ।

आगामी वर्ष वडास्तरबाट कार्यक्रम कार्यान्वयन गर्न वडाहरूलाई ३ करोड २१ लाख १८ हजार ७०७ देखि ३ करोड ४० लाख ३३ हजार ४९२ रुपैयाँ दिने प्रस्ताव गरेको छ । बजेट विनियोजन गर्दा वडाहरूले मात्रै ९४ करोड ७८ लाख ७९ हजार रुपैयाँ बजेट परिचालन गर्ने भएका छन् ।

कर्मचारीको क्षमता अभिवृद्धि, कर्मचारी प्रोत्साहन सुविधाका साथै महानगरपालिकाको समग्र प्रशासनिक कार्यको लागि ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

मेयर रेनु दाहालले चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका, भुक्तानी बाँकी रहेका योजनाहरू समयमै सम्पन्न गर्न ६० करोड रुपैयाँ विनियोजन गरिएको बताउनु भएको छ । गत आर्थिक वर्षमा भएका योजनाहरूको दायित्व तथा आर्थिक वर्ष २०८१÷०८२ मा बहुवर्षीय ठेक्का प्रणालीबाट भएका योजनाहरूको भुक्तानी गर्न एकमुष्ट २४ करोड ५० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको बताउनु भएको छ ।

सहरी पूर्वाधारतर्फ ठूला तथा रणनीतिक महत्व तथा गौरवका पूर्वाधार निर्माण गर्न एवम् संघीय र बागमती प्रदेश सरकारबाट प्रस्तावित समपूरक र विशेष अनुदान अन्तर्गतका योजनाहरू एवं संघ, संस्था, उपभोक्ता समेतबाट साझेदारी हुने कार्यक्रमको कार्यान्वयन गर्नका लागि समपूरक साझेदारी कोष स्थापना गरी १४ करोड बजेट विनियोजन गरिएको छ।

महानगरको एकीकृत सहरी विकास गुरूयोजनाको भुक्तानीको लागि २५ लाख बजेट विनियोजन गरिएको छ । सुरक्षा निगरानी तथा ट्राफिक व्यवस्थापनको लागि सिसिटिभी जडान कार्यको भुक्तानी गर्न ४ करोड रुपैयाँ छुट्याइएको छ।

नगरसभाले कृषिमा ९ करोड, शिक्षा विकासमा १० करोड ८० लाख, नियमित मर्मत सम्भारमा ४ करोड, ३ करोड २५ लाख बजेट विनियोजन गरेको छ।

यसैगरी, खानेपानी, वातावरण सरसफाइ तथा हरियाली प्रवद्धन शीर्षकमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। सूचना तथा प्रविधि एवं डिजिटल प्रणालीतर्फ ५० लाख, रोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकासतर्फ १ करोड, पर्यटन तथा उद्योग वाणिज्य तथा सहकारीतर्फ १ करोड रुपैयाँ विनियोजन गरिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम पुरा गर्नका लागि ४ करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको छ । मेयर कप क्रिकेट तथा फुटबल र उपमेयर कप भलिबलका लागि ४२ लाख विनियोजन गरिएको छ। यस बाहेक युवा तथा खेलकुदतर्फ थप १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

दलित तथा गैर दलितबीचको अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान, बालमैत्री वडा घोषणालगायतका लागि १ करोड ५० लाख, विपद् व्यवस्थापनका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि पुरक र जेठ मसान्त सम्मको थप अख्तियारीसमेत गरेर ५ अर्ब ४६ करोड १ लाख ४२ हजार रुपैयाँको बजेट ल्याएको थियो। त्यसबाट चालुतर्फ २ अर्ब ७३ करोड ५२ लाख ६२ हजार विनियोजन गरिएकोमा जेठ मसान्त सम्ममा ६९ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ २ अर्ब ७२ करोड ४८ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएकोमा ३८ प्रतिशत खर्च भएको छ।

आन्तरिक आम्दानी १ अर्ब ८० करोड संकलन गर्ने लक्ष्य राखिएकोमा जेठ मसान्त सम्ममा १ अर्ब १५ करोड १ लाख रुपैयाँ संकलन भएको छ ।

लोकप्रिय