रसुवा बाढीमा १८ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरबाट उद्धार

रसुवा बाढीमा १८ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरबाट उद्धार

नेपाल । चीन सिमानास्थित लेन्डेखोलामा आएको बाढीको कारण नेपाल—चीन जोड्ने मितेरी पुल बगाउँदा त्यहाँ १८ जना हराइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

हराउनेमा तीनजना नेपाल प्रहरी, तीनजना सवारी चालक, ६ जना नेपाली कामदार र ६ जना चिनियाँ नागरिक रहेको रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताएका छन्।

अहिले उक्त पुलसम्म पुग्ने सडकहरू पनि बगाएका कारण मानिसहरू अलपत्र परेका छन् । बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेको मालवाहक कन्टेनरहरू र गाडीहरू समेत बगाएको छ ।

रुसुवाको स्याफ्रुबेसीदेखि रसुवागढी नाकासम्मको बाटो समेत बन्द भएको अधिकारीहरूले बताएका छन्।

सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू समेत हराइरहेका छन् । के कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ ।

त्यस्तै रसुवा जलविद्युत आयोजनामा फसेका २० जनालाई सुरक्षित स्थलतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

बाढीका कारण विभिन्न ठाउँमा फसेका एक नेपाल प्रहरी, एक सशस्त्र प्रहरी र अन्य ७ जना मानिसहरूलाई उद्धार गरिएको उनले बताए।

रसुवागढी प्रहरी चौकीका अनुसार मङ्गलवार बिहान ३ बजे गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढीमा चीनको क्षेत्रमा परेको वर्षाको कारण बाढी आएको थियो।

बिहान ४ बजेको समयमा नेपाल र चीन नाका जोड्ने मितेरी बगाइ पुल पूर्ण रूपमा क्षति भई मानिस र सवारीसाधनमा आवतजावत बन्द भएको छ ।

बाढीका कारण त्यहाँ रहेको विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनमा क्षति भएको र ७र८वटा गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवा र रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति भएको उक्त चौकीले जनाएको छ।

नेपाल(चीनस्थित लेन्डेखोलादेखि आएको बाढीको प्रभाव नुवाकोटमा समेत परेको विवरणहरू आएका छन्। नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ मा त्रिशूली नदीमा फसेका एक महिला र एक पुरुषलाई उद्धार गरिएको छ।

बसपार्क नजिकै त्रिशूली नदीको बीचमा दुई जना महिला र पुरुष फसेको अवस्थामा थिए। उनीहरूलाई सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।

बाढी बढेपछि रूख चढेर बसेका उनीहरूलाई फसेको तीन घण्टापछि हेलिकोप्टरबाट उद्धार गरिएको थियो।

पानीको सतह बढेसँगै त्यस आसपासका मानिसहरू अन्यत्र गइरहेको बताइएको छ।

उद्धारका लागि स्थानीय सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत खटिएका छन्।

तर नदीमा पानीको सतह झन् बढ्दै आएकोले अवस्था कठिन भइरहेको अधिकारीहरूले बताएका छन्। स्रोत बीबीसी

लोकप्रिय