अनलाइनबाटै ट्राफिक सचेतना कक्षा

अनलाइनबाटै ट्राफिक सचेतना कक्षा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ट्राफिक सचेतना कक्षा अनलाइनबाट सञ्चालन गर्न थालेको छ । प्रधान कार्यालय काठमाण्डौमा भएको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कक्षा सञ्चालनको शुभारम्भ गर्नुभएको छ ।

अनलाइन सचेतना कक्षा नागरिक एपबाट लिन सकिने भएको छ । उक्त कक्षा संचालनमा आएसँगै ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यता हटेको छ।

जाँडरक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा हाँक्ने, लेन अनुशासन पालना नगर्ने र रातो बत्तीमा गाडी चलाउने जस्ता कसूरमा कारबाहीमा परेका चालकहरूले अनलाइन कक्षा लिन सक्नेछन् ।

अनलाइन कक्षा लिनुभन्दा पहिले तोकिएको जरीवाना तिरेपछि मोबाइलमा रहेको ‘नागरिक एप’ खोलेर ‘ट्राफिक अनलाइन क्लास’मा गई ‘जोइन क्लास’ गर्नुुपर्दछ ।

एपमा देखाइएका सबै नियम र सर्तहरू पढेर आफ्नो दुवै कान देखिने गरी स्पष्ट अनुहारको फोटो खिचेर अपलोड गरेपछि भिडिओ कक्षा शुरू हुन्छ । कक्षाको अन्त्यमा सोधिने छ वटा प्रश्नमध्ये कम्तीमा ३ वटाको सही जवाफ दिनुपर्नेछ । अनुत्तीर्ण भएमा ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमै उपस्थित हुनुपर्नेछ ।

कक्षा सफलतापूर्वक सम्पन्न भएपछि ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) मा स्वतः अपडेट हुनेछ र नागरिक एपमा कक्षा पूरा भएको जानकारी देखिनेछ ।

कक्षा चलिरहेको बेला मोबाइलको क्यामेराले प्रयोगकर्ताको अनुहार निरन्तर निगरानी गर्नेछ । यदि एक मिनेटसम्म अनुहार नदेखिएमा वा क्यामेरा बन्द भएमा पहिलो पटक चेतावनी दिइने तथा तीन पटकसम्म उक्त पक्रिया दोहोरिएमा कक्षा स्वतः रद्द हुने ट्राफिक प्रहरीले बताएको छ।

लोकप्रिय