स्वास्थ्य मन्त्रालय बागमतीको एक वर्ष उपलब्धिमूलक !

स्वास्थ्य मन्त्रालय बागमतीको एक वर्ष उपलब्धिमूलक !

 

काठमाडौ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ को समिक्षा उपलब्धिमूलक रहेको छ । पद बहाली गरेको एक वर्ष पुगेको अवसरमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्यमन्त्री किरण थापाले गुणस्तरीय, अत्याधुनिक र दिगो स्वास्थ्य सेवा विस्तारमा मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी–एक घण्टा मेरो लागि’ अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ कार्यक्रम प्रदेशभर सुरु गर्ने पनि उनले बताए । उनले आम जनताले महसुस गर्ने गरी सेवा दिन कुनै कसर बाँकी नराखेको स्पष्ट पारे ।
स्वास्थ्य मन्त्रालयका काम चुस्त बनाउन प्रदेश स्वास्थ्य सेवा ऐन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन संशोधन गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिए । स्वास्थ्य संस्था सञ्चालन, सेवा स्तरोन्नति, नवीकरण तथा अनुमति प्रणालीलाई व्यवस्थापन गर्न नियमावली तथा मापदण्डहरू बनाइएर अनलाइन प्रणालीबाट काम सुरु भएको उनले बताए ।
बागमती प्रदेश सरकारले रसुवा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोकजस्ता दुर्गम जिल्लाहरूमा विशेषज्ञ चिकित्सक प्रोत्साहनसहित परिचालन गरेको पनि मन्त्री थापाको भनाई छ ।
प्रदेश सरकारले २१ प्रकारका आयुर्वेद औषधिहरू उत्पादन र वितरण गर्दै वैकल्पिक चिकित्सा प्रवद्र्धन थालेको छ । यस अघि ११ प्रकारका औषधि उत्पादन गर्दै आएको औषधि उत्पादन केन्द्रले केही महिना भित्र नै २१ प्रकारका औषधि उत्पादन गर्ने पनि मन्त्री थापाले जानकारी दिए ।
विशेषज्ञ आयुर्वेद सेवा विस्तार गरी अन्तरङ्ग सेवा समेत नुवाकोट, चितवनमा सुरु भइसकेको जानकारी दिँदै अन्य स्थानमा सुरु गरिने उनको भनाइ छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, बिएमएलटी, बिएएसी नर्सिङ, बिफर्मा, एमडी लगायतका विषय पढाइ हुने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
हाल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल र भक्तपुर अस्पतालमा ३०० शय्या, सिन्धुली, धादिङ, नुवाकोटमा १०० शय्या,रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा ५० शय्या, रसुवा, टोखा, बज्रबाराहीमा २५ शय्यामा अस्पताल सञ्चालन भइरहेको मन्त्री थापाले जानकारी गराए ।

लोकप्रिय