इन्द्र बानियाँको सत्तामोहले बागमती सरकार भद्रगोल
काठमाडौँ । प्रदेश सांसद इन्द्र बानियाँको सत्तामोहले बागमति प्रदेशमा तरङ्ग पैदा भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वको सरकार भङ्ग गरेर आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने स्वार्थपूर्ण मनसायले इन्द्र बानियाँले बागमती सरकारका ४ मन्त्रीहरुलाई राजिनामा समेत गराउन सफल भएका छन् भने लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।
बागमती प्रदेशको कांग्रेस संसदीय दलका नेता लामालाई पदबाट हटाउने योजनाका साथ पार्टीका २१ सांसदहरुले शुक्रबार संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहित केही शीर्ष नेता निकटका सांसदहरुले बानियाँलाई साथ दिएकै कारण लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको मुख्यमन्त्री लामा निकट स्रोतको भनाई छ ।
प्रदेशसभामा रहेको कांग्रेसका ३७ सांसदमध्ये नेता शेखर कोइराला निकट ४ सांसदले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छैनन् । जसमा चितवनका उत्तम जोशी, गीता गुरुङ, नुवाकोटका रमेशकुमार महत र सिन्धुलीका रामकुमार पहाडी रहेका छन् ।
यस्तै सहमहामन्त्री डिना उपाध्याय पक्षीय २ सांसद पनि लामाकै पक्षमा उभिएका छन् । काठमाडौँकी समिता खड्गी र मकवानपुरकी लक्ष्मीदेवी श्रेष्ठले मुख्यमन्त्री लामाको पक्षमा उभिएका छन् । यसैगरी नेता मोहन बहादुर बस्नेत पक्षीय मानिने २ सांसद कृष्णकुमार श्रेष्ठ र मसिना खड्काले पनि मुख्यमन्त्री लामा विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छैनन् ।
तर सभापति शेरबहादुर देउवा, प्रवक्ता प्रकाश शरण महत र नेता प्रकाशमान सिंह निकटका सांसदहरू भने मुख्यमन्त्री लामा विरुद्धको अविश्वास प्रस्तावमा बाँडिएका छन् । सभापति देउवा निकटका सांसद तीर्थ लामा, छत्रबहादुर बोम्जनले विगतदेखि नै मुख्यमन्त्री लामालाई सघाउँदै आएका छन् । जसका कारण उनीहरूले मुख्यमन्त्रीको अविश्वासको प्रस्तावमा सघाएका छैनन् । यस्तै धादिङका गोविन्द लम्साल पनि सभापति देउवा निकट हुन् भने उनले पछिल्लो समय मुख्यमन्त्री लामालाई सहयोग गर्दै आएका छन् ।
नेता प्रकाश शरण महत निकटका काठमाडौँका श्याम बहादुर खड्काले मुख्यमन्त्री लामा विरुद्ध हस्ताक्षर गरेका छैनन् । उनी प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री रहेका छन् । नेता प्रकाशमान सिंह निकट रहेका ललितपुरका रामकृष्ण चित्रकार, काठमाडौँकी हरिप्रभा खड्गीले पनि मुख्यमन्त्री लामा विरुद्ध हस्ताक्षर गरेका छैनन् ।
खड्गी प्रदेशको सामाजिक विकास मन्त्री रहेकी छिन् । मकवानपुरकी लक्ष्मी देवी श्रेष्ठ र काठमाडौँकी समिता खड्गी भने सहमहामनत्री डिना निकट रहेका छन् । यसबाहेक देउवा निकटकै मानिने इन्द्रबहादुर बानियाँ अविश्वास प्रस्तावको नेतृत्वकर्ता नै हुन् । उनले नै आफू संसदीय दलको नेता बन्ने योजनाका साथ हस्ताक्षरको नेतृत्व गर्दा देउवा पक्षका शिवराज अधिकारी, विनु रायमाझी, प्रभात तामाङ, मीनकृष्ण महर्जन र विमल ठकुरीले लामाविरुद्ध हस्ताक्षर गरेका छन् ।
यस्तै महामन्त्री गगन थापा निकट मानिने याङ्किला शेर्पा, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, मीना पराजुली र छिरिङ दोर्जे तामाङ तथा महत निकट मानिने माया श्रेष्ठ, उर्मिला नेपाल र सुना परियारले पनि लामाविरुद्धको महाभियोगमा हस्ताक्षर गरेका छन् ।
यसैगरी बालकृष्ण खाण निकट मानिने मदुकुमार श्रेष्ठ तथा प्रकाशमान सिंह निकट मानिने कञ्चनचन्द्र बाँदे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, यमुनादेवी श्रेष्ठ र शान्ता ढकालले पनि महाभियोगको पक्षमा हस्ताक्षर गरेका छन् । तर, नेता शेखर कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र नेता मोहनबहादुर बस्नेत पक्षका सांसद समेत बागमती प्रदेशमा रहे पनि उनीहरू भने लामालाई महाभियोग लगाउने खेलमा नरहेको दाबी गरिएको छ ।
यसबीच मुख्यमन्त्री लामाले अविश्वासको प्रस्तावको सामना गर्न आफू गर्न तयार रहेको बताइसकेका छन् । यस्तै राजीनामा दिएका भनिएका चार जना मन्त्रीहरूलाई उल्टै उनले बर्खास्तीको घोषणा गरेका छन् । मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गरेका हुन् ।


प्रतिकृया दिनुहोस्