भारत र चीनलाई लिपुलेकबाट बाटो चाहिएको हो भने दिनुपर्छ, तर स्वामित्व नेपालको हुनुपर्छः पूर्व राजदूत श्रेष्ठ

भारत र चीनलाई लिपुलेकबाट बाटो चाहिएको हो भने दिनुपर्छ, तर स्वामित्व नेपालको हुनुपर्छः पूर्व राजदूत श्रेष्ठ

 

काठमाडौं । पूर्व राजदूत एवं कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनका नेताहरुसँग नेपाललाई नसोधी लिपुलेकको मार्ग प्रयोग गर्नेबारे भएको सम्झौताबारे कुरा राख्न सक्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीले चीन र भारत भ्रमणका क्रममा यो विषय उठाउन सक्नुपर्ने बताएका हुन् ।
‘लिपुलेकको बाटोको बारेमा नेपाललाई नसोधी, नेपालको सहमति नलिइकन जुन सम्झौता भयो, त्यसले देशभित्र सनसनी नै आएको छ । प्रधानमन्त्रीले यो कुरा उठाउनुहुन्छ कि उठाउनुहुँदैन, समाधान गर्नलाई के पहल होला भन्ने प्रश्न व्यापक रुपमा छ । म के भन्न चाहन्छु भन्दा– उठाउनुपर्छ,’– उनले भने ।
भारत र चीनलाई लिपुलेकको बाटो चाहिएको हो भने नेपाल दिन तयार रहेको पनि उनले बताए । त्रिदेशीय वार्ता गरेर त्यो भूमिको स्वामित्व नेपालको हुनुपर्ने शर्तसहित त्यो ठाउँबाट बाटो खोल्न सकिने उनले बताए । नेपाल बाटो खोल्ने कुराको बाधक हुन नहुने उनको भनाइ छ ।
साथै, उनले भारतले लिपुलेकदेखि लिम्पियाधुरासम्मको जग्गा स्थायी रुपमा कब्जा गरेर बस्न चाहेको बताए । भारतले नेपालको भू–क्षेत्र कब्जा गर्ने मनशाय राखेको भए पनि चीनको त्यस्तो मनशाय नरहेको उनले बताए । चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत आफ्नो व्यापार र प्रभाव बढाउन चाहिरहेको उनले बताए ।

लोकप्रिय