एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ पुनः नियुक्त
काठमाण्डौ । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ पुनः नियुक्त हुनुभएको छ । यही भदौ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँको पहिलो चार वर्षे कार्यकाल असोज ७ गते सकिँदै छ । असोज ८ गतेदेखि लागू हुने गरी उनलाई फेरि चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
खालिङसँग बैंकिङ क्षेत्रमा काम गरेको ४० वर्षको अनुभव छ । सन् १९८६ मा स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गर्नुभएको खालिङ लक्ष्मी सनराइज बैंक (साबिक लक्ष्मी बैंक)मा सीईओ हुँदै विसं २०७८ मा एभरेष्ट बैंकको सीईओ बन्न सफल हुनुभएको हो। पन्जाब नेशनल बैंकको साझेदारीमा सन् १९९४ मा खुलेको एभरेष्ट बैंक २७ वर्षसम्म विदेशी सीईओको नेतृत्वमा चलेको थियो। सुदेश खालिङ नै एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ हुनुहुन्छ ।
उहाँको चार वर्षे कार्यकाल उत्कृष्ट रहेको बैंकका सूचकाङ्कहरूले देखाउँछ । २० वाणिज्य बैंकमध्ये सेयर मूल्य सबैभन्दा बढी एभरेष्ट बैंकको छ । लाभांश क्षमता सबैभन्दा बढी एभरेष्ट बैंकको छ । अर्थतन्त्रमा चरम संकट हुँदा पनि बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम छ । बैंकको व्यवसाय वृद्धि उच्च दरमा भएको छ ।
चार वर्ष अगाडि खालिङ सीईओ बन्दा बैंकको निक्षेप १ खर्ब ६० अर्ब रुपैयाँ थियो भने हाल २ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको थियो । साथै बैंकको कर्जा लगानी १ खर्ब २७ अर्ब रुपैयाँबाट बढेर २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । चार वर्ष अगाडि १ अर्ब ८२ करोड रुपैयाँ नाफा गर्ने बैंकले गत आर्थिक वर्ष २०८१र८२ मा ५ अर्ब रुपैयाँ पुगेको छ ।
नेतृत्व र नतिजा दुबैमा सफलता प्राप्त गर्नुभएको खालिङ एभरेष्ट बैंकको दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएको हो ।


प्रतिकृया दिनुहोस्