पत्रकार महासंघले भन्यो–‘जनमतको अपमान भयो’

पत्रकार महासंघले भन्यो–‘जनमतको अपमान भयो’

 

काठमाडौं । नेपाल पत्रकार महासंघले जनमतको अपमान भएको जनाएको छ । ‘राष्ट्रपतिबाट संविधानकोे प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधिसभा विघटन सिफारिस सदर गरियो,’ महासंघले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट जनमतको अपमान भएको छ । यो अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ ।’
‘जेन्जी’को आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति निर्माण भएको महासंघले उल्लेख गरेको छ ।
‘महासंघ संविधानविपरीत प्रधानमन्त्रीको नियुक्ति र सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिर र सिद्धान्त विपरीत भएको प्रतिनिधिसभा विघटन संवैधानिक र नागरिक सर्वोच्चता विपरीत रहेको ठहर गर्दै यो कदम लोकतन्त्रका लागि अनिष्टको संकेत हो भन्ने ठान्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
यो कदमले मुलुकको लोकतान्त्रिक प्रणाली, संवैधानिक सर्वोच्चता, नागरिकका अधिकार, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गणतन्त्र, संघीयता, समावेशिताजस्ता उपलब्धिमा आघात पुग्ने महासंघको ठहर छ ।

लोकप्रिय