विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा सहभागि हुन विभागको सर्कुलर

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा सहभागि हुन विभागको सर्कुलर

 

काठमाडौं । अध्यागमन विभागले १ जनवरी २०२६ बाट अनिवार्य गर्न लागेको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा सहभागि हुन पुनः सचेत गराएको छ । विभागका अनुसार यो प्रणाली पहिलो चरणमा १७ पुस (सन् २०२६ जनवरी १) देखि काठमाडौं उपत्यकाभित्रका तारे होटलमा अनिवार्य गरिँदैछ ।
दोस्रो चरणमा वि।सं। २०८२ फागुन १७ (सन् २०२६ मार्च १) देखि देशभित्रका अन्य तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्स्चेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस तथा अन्य सार्वजनिक, निजी संस्थाका सेवामा लागु गर्ने कार्ययोजना छ ।
प्रणाली कार्यान्वयनको लागि छोटो अवधि मात्र बाँकी रहेको र हालसम्म आबद्ध भएका निकायहरूको संख्या न्यून रहेको देखिएको विभागले उल्लेख गरेको छ । विभागका अनुसार पहिलो चरणमा उपत्यकाका तारे होटेलहरूमा अनिवार्य लागु गर्ने भनिए पनि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवम् निजी कम्पनी अग्रीम रुपमा यस प्रणालीमा आवद्ध हुन सक्छन् ।
नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो ।

लोकप्रिय