मार्वलस र रेडियन्ट सेमिफाइनलमा

मार्वलस र रेडियन्ट सेमिफाइनलमा

 

काठमाडौ । मार्वलस र रेडियन्ट पब्लिक १३औँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

बाफलस्थित आयोजक ग्रिनफिल्डको हलमा भएको क्वाटरफाइनलमा मार्वलसले संस्कृति इन्टरनेसनल स्कुललाई ६६–४० तथा रेडियन्टले इनोभेटिभलाई ४७–२४ ले पराजित गरे। मार्वलसका सिनेप शाहीले ३२ तथा रेडियन्टका सुगम मगरले २० अंक जोडे।

सोही स्पर्धामा सनसाइनले केभीएसलाई ४९–४४ तथा पुष्पसदनले गण्डकीलाई ५५–४५ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। सनसाइनका उमंग श्रेष्ठले १९ तथा पुष्पसदनका सम्राट लामाले १६ अंक जोडे। सेमिफाइनलमा रेडियन्टले पुष्पसदनसँग तथा मार्वलसले सनसाइनसँग प्रतिस्पर्धा गर्नेछन्।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले नेपालयलाई ३९–२४, ज्ञान निकेतनले नवीन ज्योतिलाई ३१–२२ र इडेन ब्रिज एकेडेमी ९इबीए० ले महामञ्जुश्रीलाई ५१–४६ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। एन्जल्स हार्टका सौरव श्रेष्ठले ११, ज्ञान निकेतनका सुमन तामाङले १६ र इबीएका उज्ज्वल राउतले ३० अंक जोडे। आयोजक ग्रिनफिल्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। जुनियर ब्वाइजको सेमिफाइनलमा ग्रिनफिल्ड र एन्जल्स हार्ट तथा इबीए र ज्ञान निकेतनबीच प्रतिस्पर्धा हुनेछ।

सिनियर गल्र्समा भ्याली पब्लिकले केभीएसलाई २७–१४, इबीएले ज्ञानोदयलाई ३४–१० र स्वर्णिमले नवीन ज्योतिलाई २९–२४ ले पन्छाउँदै सेमिफाइनलमा स्थान बनाए। भ्याली पब्लिककी दृष्य गुरुङले १०, इबीएकी अनामिका पटेलले १२ र स्वर्णिमकी हिसी ल्हामु लामाले १२ अंक जोडे। रेडियन्ट पब्लिकले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। सेमिफाइनलमा भ्याली पब्लिक र इबीए तथा स्वर्णिम र रेडियन्टबीच प्रतिस्पर्धा हुनेछ।

लोकप्रिय