विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
धनबहादुर मगर/घनश्याम अधिकारी (वैरागी जेठा)
काठमाडौं, साउन २२, अगष्ट २२, जनस्वास्थ्य कार्यालय काठमाडौको आयोजनामा विश्व स्तनपान समापन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त स्तनपान सप्ताह समापन कार्यक्रमलाई सम्वोधन गर्दै जनस्वास्थ कार्यालय काठमाडौंका कार्यालय प्रमुख सागर प्रसाद घिमिरेले सप्ताह मनाउनुको कारण शिशु स्वास्थमा आमाको दूधको महत्वपूर्ण हुने भएकोले पनि सचेतना फैलाउनुको लागि पनि कार्यक्रम को आयोजना गरेको बताउनु भयो ।
काठमाडौँको टेकुस्थित आफ्नो कार्यालयमा शुक्रबारदेखि सञ्चालन हुनेगरी स्तनपान कक्षको उद्घाटन गरिएको थियो । उक्त स्तनपान कक्षको प्रयोग जनस्वास्थ्य कार्यालयका कर्मचारी तथा काठमाडौँ जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्यकर्मीले गर्ने बताइएको छ । १६–२२ साउन (१–७ अगस्ट) मा विश्व स्तनपान सप्ताहको अवसर पारेर स्तनपान कक्षको स्थापना गरिएको हो । ‘‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानको लागि सबैको साथ’’ भन्ने मुल नाराका साथ यस वर्षको स्वास्थ सँग सम्बन्धित सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले देशभर स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

शुक्रबार सप्ताह समापनको दिन जनस्वास्थ्य कार्यालय, काठमाडौंले स्तनपान सम्वद्र्धनका लागि अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न गरेको छ । अभिमुखीकरणमा विभिन्न सञ्चारगृहमा आवद्ध नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका करिब दुई दर्जन सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा पोषण शाखा प्रमुख लिला विक्रम थापाले स्तनपान प्रवद्र्धनका लागि सरकारले गरिरहेका कामहरुको सम्बन्धमा प्रकाश पारेका थिए । थापाले थापाथलीस्थित प्रसुतिगृहमा २०६९ सालदेखि ब्रेस्ट मिल्क बैंक स्थापना भएको भन्दै यस वर्ष चितवनस्थित भरतपुर अस्पतालमा पनि स्थापना हुने जानकारी दिए । उनले स्तनपानको प्रवद्र्धनमा नेपाल सरकारले जोड दिइरहेको बताउनु भयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय काठमाडौंकि जनस्वास्थ्य अधिकृत अनिता खनालले नेपालमा स्तनपानको अवस्था कार्यपत्र प्रस्तुत गरेकी थिइन् । खनालले स्तनपान प्रवद्र्धनमा गरिने खर्च नभइ लगानी भएको बताइन् । उनले ‘‘सुनौलो हजार दिन’’ आमा र बच्चालाई विशेष महत्वका साथ ध्यान दिनुपर्ने भन्दै स्तनपानले बच्चाको शारिरिक र मानसिक विकासका साथै भविष्यमा हुनसक्ने नसर्ने रोगमा कमी आउने बताइन् । खनालले शिक्षा नभएकाहरुले भन्दा उच्च शिक्षा भएकाहरुले नै स्तनपान नगराई दुधदानीबाट दुध खुवाउने गर्नु चिन्ताको विषय भएको उल्लेख गरिन् । जनस्वास्थ्य कार्यालय काठमाडौंले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणमा अनुगमन गर्दै आएको उनले जानकारी दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सह–सचिव विक्रम रत्नले स्तनपान प्रवद्र्धनका लागि सञ्चारगृहले प्रकाशन तथा प्रशारण गर्ने समाचारले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्ने भन्दै यसका निम्ति पत्रकारहरुले विशेष ध्यान दिनुपर्ने बताए । उनले आफुहरुले जनस्वास्थ्य सँग सम्बन्धित विषयमा संवेदनशील भएर कलम चलाउने पनि बताए । उनले पत्रकार महासंघ काठमाडौंले जनस्वास्थ्यसँग जोडिएका विषयमा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता पनि समेत व्यक्त गरेका थिए ।


प्रतिकृया दिनुहोस्