शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
काठमाडौं । शासकीय नालायकीका कारण मधेशमा ३ जनाको मृत्यु भएको छ । सुनसरीको देवानगञ्जमा आइतबार स्थानीय युवाबीच भएको सामान्य विवाद झडपमा परिणत भएको थियो । स्थानीय प्रशासन र प्रहरी समयमै उचित पहल नगर्दा विवादले हिंसाको रुप लिन पुगेको थियो । यहीकारण सुनसरीमा २ र सिरहामा १ जनाको मृत्यु हुनपुग्यो । सरकारले घटनाको वास्तविकता र स्थानीय समाजको धरातल नबुझी एकोहोरो बल प्रयोग गर्न खोज्दा सुनसरी हुँदै सिरहा,सप्तरीसम्म आन्दोलन चर्कियो ।
स्थानीय दुई समूहको विवादबारे जानकार भएपनि प्रहरीले पर्याप्त चासो देखाएन । दुई पक्षबीच झडप भइसकेपछि घटनास्थलमा पुगेपनि प्रहरीले विवाद मिलाउनेभन्दा एकपक्षलाई दवावमा राख्नेगरी प्रस्तुत भयो । जसलाई स्थानीयले प्रतिवाद गरे । समन्वयभन्दा शक्ति प्रदर्शनको तयारी देखिएपछि देवानगञ्जको आक्रोश सुनसरी जिल्लाभरी फैलियो ।
प्रहरीको गोली लागेर देवानगञ्ज ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थिति अझ गम्भीर बन्न पुग्यो । यतिञ्जेल सरकारले शान्ति सुव्यवस्था कायम गराउन कुनै संयमता देखाएको थिएन । बरु सेना परिचालन गरेर स्थानीयलाई धरपकड गर्ने काम गरियो । बल पहिलो दिननै यतिधेरै बल प्रयोग भयो की घाइतेमध्ये १० जनालाई कम्मरमाथि गोली हानियो । विगतमा जेनजी आन्दोलनमा भएको बल प्रयोगको विरोध गरेका बालेन्द्र साह र त्यही आन्दोलनमा भएको शहादत देखाएर गृहमन्त्री बनेका सुधन गुरुङसमेतले घटनालाई गौण रुपमा लिए । घटनाको ५ दिनसम्म संघीय सरकारले बल प्रयोग बाहेकको कुनै प्रयत्न गरेन । यतिन्जेल आन्दोलन चर्किएर मधेश प्रदेश प्रवेश गर्दै थियो । आन्दोलनलाई हिन्दु र मुस्लिम बीचको लडाईंका रुपमा परिभाषित गर्न प्रयास गरियो ।
खासगरी सत्तारुढ दल रास्वपाकै केही सांसद र स्थानीय नेताहरुले स्थानीय विवादलाई हिन्दु मुस्लिम विवादको रंग दिन चाहेका थिए । घटनाको ५ दिनपछि चौतर्फी दवावकाबीच प्रधानमन्त्री बालेन्द्र साहले देशवासीका नाममा सम्बोधन गरे । गृहमन्त्री सुधन गुरुङ घटनास्थल पुगेर पीडित परिवारसँग सहमति गरे । यसले तत्कालका लागि आन्दोलन क्रमशः मत्थर हुँदै जाने सम्भावना त बढेको छ । यद्यपि मधेशमा कुनैपनि बेला स्थिति नियन्त्रणबाहिर जाने खतरा कायमै छ ।
जनता त्रस्त, बालेन मस्त
देवागञ्ज घटनाको पहिलो दिनदेखि नै सरकारको भूमिकामाथि प्रश्न उठेकै थियो । घटनालाई गम्भीर मूल्यांकन गरेको भए दोस्रो दिननै स्थिति सुध्रन सक्थ्यो । तर शासकीय अनुभव नहुनुको परिणाम यही देखियो । सुरक्षा निकायबीच पर्याप्त छलफल र समन्वय नहुँदै सेना परिचालन गरियो । जसले स्थिति अझ संवेदनशील बनायो । अझैपनि प्रभावित क्षेत्रमा सेना र सशस्त्रले गस्ती गरिरहेका छन् । जसले अवस्था सामान्य बनाउने भन्दा पनि जनमानसमा डर पैदा गराउने काम गरिरहेको छ ।
जतिबेला सुनसरी जलेको थियो , प्रधानमन्त्री बालेन मस्त थिए । प्रहरीको दमन र गोली प्रहारका घटनाको सर्वत्र निन्दा हुँदा बालेनले चासो समेत राखेनन् । पछि आफ्नै पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएपछि भने बालेन झस्किए । रविको अग्रसरताले बालेन सरकार नै ढल्नसक्ने खतरा बढेपछि मात्रै बालेनले मध्यरातमा स्टाटस लेखेर संयमता अपनाउन आग्रह गरेका थिए । त्यसले परिस्थति नसुध्रिएपछि बालेनले देशवासीका नाममा सम्बोधन गर्नुपर्यो । प्रधानमन्त्री भएपछि राष्ट्रपतिसँग नियमित संवाद नगरेका उनी शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटे । आफ्नो कमजोरी छताछुल्ल भएर सत्ता नै डगमगाएपछि मात्रै बालेनले अग्रसरता लिएका थिए । यसबाट महागनरको मेयर हुँदा खुद्रामसिना कामबाट चर्चा कमाएपनि मुलुकको प्रधानमन्त्रीका रुपमा गहन जिम्मेवारी लिन बालेन परिपक्व नभएको स्पष्ट भएको छ । जसको प्रभाव निकट राजनीतिमा देख्नपनि सकिन्छ ।
गृहमन्त्रीको गम्भीर असभी
जेनजी आन्दोलनमा पानी बाँड्न गएको बताउने सुधन गुरुङले आन्दोलनपछि आफू नै नेता भएको दावी गरेका थिए । त्यतिबेला आन्दोलनमा बल प्रयोग भएकोमा विरोध गरेर हिंसात्म चेतावनी दिने सुधन गुरुङ अहिले गृहमन्त्री छन् । यतिबेला उनैले बल प्रयोग गर्दा मधेशमा ३ जना युवाको मृत्यु भएको छ । यसको नैतिक जिम्मेवारीबाट पन्छिएर गृहमन्त्री गुरुङ आफै फिल्डमा त उत्रिए तर त्यसले अझ गम्भीर अवस्था बनायो ।
कतिपय स्थानमा गृहमन्त्री विरुद्ध नै स्थानीयले नाराबाजी गरेर लखेटे । गृह प्रशासनको काबिल नेतृत्व गर्नको साटो कन्टेन्ट क्रियटर जसरी स्टन्ट गर्ने गृहमन्त्रीलाई देवागन्ज घटनाले राम्रै पाठ सिकाएको छ । सत्तारुढ रास्वपाभित्रै गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाइएको छ । देवानगन्ज घटनाले गृहमन्त्री परिवर्तनको विषयले रास्वपामा प्रवेश पाउने निश्चित छ ।


प्रतिकृया दिनुहोस्