नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा

नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा

धनबहादुर मगर/वैरागी जेठा
साहित्य सन्ध्याको ४८० औं नियमित मासिक श्रृँखलामा ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण’’ विषयमा विशद चर्चा गरिनुका साथै ‘‘सत्ताको मान्छे’’ कवितासंग्रहको परिचर्चाकासाथ साहित्य सन्ध्याले विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।
साहित्य सन्ध्याका प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा.सोमप्रसाद खतिवडाले ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण’’ विषयमा विशद चर्चा गर्नुुहुँदै साहित्य सन्ध्याको विशेष कार्यक्रममा सिर्जना सुन्ने र वास्तवमै अत्यन्त समसामयिक विषयमा आफ्ना धारणा राख्ने अवसर मिलेको बताउनु भयो । चाडवाड भनेका खुसियाली मनाउने परम्परा हुन्, । चाडवाडहरू देखेर, सुनेर संसारका मान्छे चकित हुन्छन् । मान्छेभन्दा बढी मूर्तिहरू, र चाडवाडहरु पाइने बताउनु भयो ।

विशेष अतिथि प्रा.डा.हेमनाथ पौडेलले वरिष्ठ पत्रकार एवम् साहित्यकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’को परिचर्चा गर्नुहुँदै साहित्य सन्ध्याले वि.सं.२०२३ सालदेखि नेपाली राजनीति र नेपाली पत्रकारिताका भीष्मपिताम्मह मानिएका साहित्यकार थपलियाको कवितासंग्रहको चर्चा गरिनु सान्दर्भिक रहेको बताउनु भयो । थपलिया राजनैतिक, र पत्रकार, साहित्यकार व्यक्तित्व हुनुहुन्छ । राजनीतिमा लागेका कारण जेलनेल भोगेका अग्रज स्रष्टा थपलियाको ‘‘जीवनोपयोगी विचारहरू’’ र दुइटा अन्य मुक्तकसंग्रह प्रकाशित भएका छन् ।
वाचित रचनामाथि समालोचक उपप्रा.रूपक अलंकारले लामो इतिहास बनाएको साहित्य सन्ध्याको विशेष कार्यक्रममा परिचर्चा गरिएको विषय र सुनाइएका कविता समसामयिक रहेका छन् । आजको उपस्थिति पनि गुणात्मक रहेको छ । भाद्र १० गते गएको बाढीको वितण्डा, राजनीतिक परिवेशका र व्यक्तिगत अनुभूति कविता वाचित भएका छन् ।
अहिलेको विपत्तिलाई प्राकृतिक प्रकोप भन्ने कि दैवी विपत्ति भन्ने प्रश्न छ । पूर्वीय मान्यतानुसार प्राकृतिक तत्वहरूलाई नै देवता मानिएको छ । पुराणमा भने मानवीकरण भएको पाइन्छ । मानव जतिसुकै शक्तिशाली भए पनि प्रकृतिसँग हार्ने यथार्थलाई वितण्डाले पुष्टि गरेको छ । स्रष्टा पनि विद्याले, ज्ञानले वृद्ध हुनुपर्छ, शरीरले होइन भनिन्छ त्यसैले हामी सहभागी स्रष्टाले पनि औपचारिक कार्यक्रमलाई महत्व दिनु आवश्यक छ ।
पूर्वीय ज्ञानविज्ञानकै कुरा दोहोरिएका पनि छन् । प्रजातन्त्रले जनअपेक्षा पूरा नगरेको, वर्तमानको कुरूपता, भोटेकोसीको विध्वंस खलनायक बनेर आएको पक्षलाई समेटेका छन् । कवितामा साहित्य सन्ध्या ज्ञानशाला हो भन्ने मूल्याङ्कन गरिएको छ ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला भएको बताउनु भयो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको संस्थाले नयाँ र पूराना स्रष्टालाई एकै ठाउँमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ । तर, पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता कमजोर भइरहेको अवस्था छ । कार्यक्रममा पूराना र स्थापित पुस्ताको उल्लेख्य सहभागिता रहेको छ । जेजति उपस्थित हुनसकेका छन् गुणस्तरीय र भव्य उपस्थिति रहेका छन् । हामी हरेक महिनामा कुनै न कुनै महत्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसंगतिका विरुद्धमा आवाज उठाउने वा बहसको थालनी गर्ने कार्य गरिरहेका छन् । उठाएका आवाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ ।
उक्त साहित्य सन्ध्या कार्यक्रममा ओमप्रसाद कोइराला, राम विनय, शिवप्रसाद आचार्य, कुमार नेपाल, नवराज श्रेष्ठ, आभा सेतु सिंह, डा.मनोज जोशी, बैरागी जेठा, बलराम विष्ट, ललित बस्नेत भिमाली, डम्बर पहाडी एलाक, कात्यायन, गायत्रीकुमार चापागाईँ, डा.विष्णुहरि नेपाल, प्रशान्त खरेल, दुर्गा घिमिरे, केदारनाथ आचार्य, दिनेश खरेल, राजाराम राउत, प्रा.डा.हेमनाथ पौडेल, केशव ज्ञवाली आगत, डा.रूपनारायण श्रेष्ठ, अर्जुन अन्योल, चेवन बस्नेत, कृष्णप्रसाद पौडेल, लक्ष्मण रायमाझी र गोपालप्रसाद थपलियाले आ–आफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।
साहित्य सन्ध्या कार्यक्रम सञ्चालन महासचिव रमेश पोखरेलले गर्नु भएको थियो ।

लोकप्रिय