प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
काठमाडौ असोज ३, सामाजिक कथावस्तुमा आधारित उपन्यास ‘काउले’को लोकार्पण भएको छ । प्रकाशक संस्था भुँडीपुराण प्रकाशनद्वारा शुक्रबार काठमाडौको संवाद डवलीमा आयोजित एक कार्यक्रमकाबीच कृतिको विमोचन गरिएको हो ।
विमोचन कार्यक्रममा प्रा.डा.माधव पोखरेलले उपन्यासमा विषयवस्तुको प्रस्तुतिकरण ज्यादै प्रभावकारी र स्वादिलो रहेको धारणा राखे । उनले उपन्यास पढ्दै जादा त्यसभित्र ५० को दशक वरिपरिको सामाजिक परिवेशलाई निकै मिठो तरिकाले अभिव्यक्त गरिएको उल्लेख गरे ।
कार्यक्रममा डा.हर्क बहादुर शाहीले उपन्यास काउलेले अछामी भाषाको अभिलेखिकरण गर्ने कार्यसमेत गरेकोले यो महत्वपूर्ण रहेको बताए ।
कृतिमाथी समिक्षा गर्ने क्रममा समीक्षक शिवप्रसाद जोशीले उपन्यासको शीर्षक ‘काउले’ नकारात्मक मात्रै होइन सकारात्मक पात्र पनि भएको भन्दै उपन्यासले बालमनोविज्ञान, यौनमनोविज्ञान र समाजमा व्याप्त अन्धविश्वास र रुढीवादविरुद्ध सशक्त आवाज उठाएको धारणा राखे ।
त्यस्तै कृति समीक्षक डा.अमृता शर्माले पहाडी जिल्ला अछामबाट कृति सिर्जना गर्नु महत्वपूर्ण विषय भएको उल्लेख गर्दै पुस्तकले अछामका पीडा, दुःख र भोगाइलाई केन्द्रसँग जोड्न मद्दत गरेको बताईन । उनले विषयवस्तु अछामको स्थानीय परिवेशसँग घुमेको र भाषाका हिसाबले आञ्चलिक उपन्यास भएको र उपन्यास अछाममी जनताको संघर्षशील जीवनलाई उठान गर्न सफल रहेको दावी गरिन् । उपन्यासले क्षेत्रीय, जातीय र भाषिक मूल्यको खोजी गरेको, न्यूनवर्गीय मनोविज्ञान, बाल मनोविज्ञान, पर्यावरणीय उत्प्रेरणा पाउन सकिने उनको कथन थियो ।
कार्यक्रममा सांसदहरु यज्ञबहादुर बोगटी र रत्ना थापा, महेन्द्ररत्न क्याम्पस ताहचलका तिलक प्रसाद शर्मा, चेतराज शर्मा, कालिकेश्वरी प्रा.वि. तुर्माखाँदका पूर्व शिक्षक मनिराम बुढा, मनबहादुर बयक, बज्जिका, भाषाका संरक्षक रामचन्द्र महतो, उपन्यास समाजका अध्यक्ष शंकर भारती, पत्रकारहरू राजेश खनाल, जयराम बिहारी, नवीन पल्लव, धनराज वास्तविक, खेम थपलिया, सुदर्शन मङ्गोललगायत लेखक साहित्यकारहरुको सहभागिता रहेको थियो ।
उपन्यासका लेखक प्रदीप जैशीले समीक्षक र पाठकहरुको सुझाव र आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा थप रचनात्मक काम गर्ने बताए । ४ सय ८ पृष्ठ रहेको उपन्यासको मूल्य रु ७ सय ५० रहेको छ ।
भुँडीपुराण प्रकाशनका प्रबन्धक निर्देशक केशव पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा शेरबहादुर विश्वकर्माले मन्तव्यद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कुशल बोगटीले गर्नु भएको थियो ।


प्रतिकृया दिनुहोस्