नेपाली नागरिकहरूले आगमन तथा प्रस्थानसम्बन्धी विवरण नागरिक एफबाट प्राप्त गर्न सकिने
काठमाडौं भाद्र २६, अध्यागमन विभागका निर्देशक एवम् प्रवक्ताले प्रेस विज्ञाप्ति प्रकाशित गरि अध्यगमन विभागबाट प्रदान हुने सेवालाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्य अनुरूप यात्रुहरुको आगमन तथा प्रस्थान विवरण नागरिक एपमार्फत् प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
यस व्यवस्थाबाट नेपाली नागरिकहरूले आफ्नो अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थानसम्बन्धी विवरण (भ्रमण विवरण) प्राप्त गर्न विभागमा भौतिक रूपमा उपस्थित हुनु पर्ने वा भौतिक रुपमा निवेदन दिनुपर्ने वाध्यता हटेको छ ।
विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले यस विभागमा भौतिक रूपमा निवेदन दिई अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण प्राप्त गर्ने व्यवस्थाका कारण समयमा विवरण प्राप्त नहुने, विभागको कार्यबोझ बढ्ने र प्रक्रियागत झन्झट समेत व्यहोर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी यस्तो व्यवस्था गरिएको हो ।
उक्त विवरण प्राप्त गर्न सेवाग्राहीले आफ्नो स्मार्ट फोन एन्रोइड–आइओएसमा रहेको नागरिक एपमार्फत् “अध्यागमन (इमिग्रेशन) “शीर्षकभित्र प्रवेश गरी “भ्रमण विवरण“ मा जानुपर्नेछ । सोही माध्यमबाट नागरिक एपमा लिंक भएको राहदानीबाट नागरिकको विदेश भ्रमणको विवरण हेर्न तथा डाउनलोड गर्न सकिन्छ। यस सेवामार्फत सम्बन्धित व्यक्तिको लिंक भएको राहदानीको विवरण मात्र प्राप्त गर्न सकिने हुँदा व्यक्तिगत विवरण समेत सुरक्षित रहन्छ ।
यसबाट सेवाग्राहीको समय र लागत बचत हुनुका साथै सेवा प्रवाह सहज र प्रभावकारी हुने विश्वास लिइएको छ। तसर्थः यात्रा विवरण माग गर्ने व्यक्ति तथा संस्थाहरुले नागरिक एपबाटै प्राप्त गरेको विवरणलाई आधिकारिक स्रोतका रुपमा प्रयोग गर्न सकिनेछ । सेवा प्रयोगका क्रममा कुनै समस्या भएमा यस विभागमा सम्पर्क गरि जानकारी लिन सकिने विज्ञाप्तिमार्फत जनाएको छ ।


प्रतिकृया दिनुहोस्