कतारबाट बोइङले पायो दुई सय अर्ब डलरभन्दा बढीको अर्डर
काठमाडौं । कतार र अमेरिकाबीच संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको छ ।
कतार भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमिर शेखलाई भेट गर्दै संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका हुन् ।
कतारका अमिर शेखले ट्रम्पलाई शान्तिको राजदूतको संज्ञा दिएका थिए । उनले कतार र अमेरिकाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।ट्रम्पले कतारलाई सहयोगी भएकोमा धन्यवाद दिँदै दुई नेताले विश्व, युक्रेन युद्ध र इरान जस्ता विषयमा छलफल गरेको बताए । ट्रम्पले व्यापार र विशेष गरी बोइङ सम्झौताको बारेमा कुरा गरे, जसलाई उनले कम्पनीको इतिहासमा सबैभन्दा ठूलो जेट विमानको अर्डर भएको टिप्पणी गरे ।
ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल(थानीको प्रशंसा गर्दै उनको मित्रताको लागि धन्यवाद दिएका थिए । ट्रम्पले कतार एयरवेजले बोइङबाट २०० अर्ब डलरभन्दा बढी मूल्यका १६० वटा विमानको कीर्तिमानी अर्डर दिएको बताए । दुई देशबीच एमक्यू-९बी ड्रोनको सम्झौता पनि भएको छ । यसबाहेक दुई देशबीचको सहकार्यसम्बन्धी संयुक्त घोषणापत्रमा पनि हस्ताक्षर भएको छ । यसअघि ट्रम्प साउदी अरेबियाको भ्रमणमा थिए, जहाँ उनले अर्बौं डलरको सम्झौतामा पनि हस्ताक्षर गरेका थिए ।


प्रतिकृया दिनुहोस्