हसिनाका पिता शेख मुजिबुर रहमानको ‘राष्ट्रपिता’ को दर्जा खारेज

हसिनाका पिता शेख मुजिबुर रहमानको ‘राष्ट्रपिता’ को दर्जा खारेज

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनाका पिता तथा प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको ‘राष्ट्रपिता’को दर्जा खारेज गरेको छ ।

यसका लागि एक अध्यादेश जारी गरिएको र कानूनबाट राष्ट्रपिता बंगबंधु शेख मुजिबुर रहमान’ शब्दहरू हटाइएको बंगलादेशका मिडियाहरुले उल्लेख गरेका छन् ।यससँगै, १९७१ को स्वतन्त्रता सेनानी र संघर्षको परिभाषा पनि परिवर्तन गरिएको छ । हालै जुन १ मा, मोहम्मद युनुसको सरकारले नयाँ मुद्रा नोटहरूबाट शेख मुजिबुर रहमानको तस्वीर पनि हटाएको थियो ।

नयाँ नोटहरूमा हिन्दू र बौद्ध मन्दिरहरूको तस्बिर पनि छापिने बताइएको छ । यद्यपि, पुराना नोट र सिक्का पनि प्रचलनमा रहनेछन् । स्वतन्त्रता सेनानीको नयाँ परिभाषा अन्तर्गत, मार्च २६ देखि डिसेम्बर १६, १९७१ सम्म युद्धको लागि तयारी गर्ने, भारतमा तालिम शिविरहरूमा भाग लिने, पाकिस्तानी सेना र यसका सहयोगीहरू विरुद्ध हतियार उठाउने नागरिकहरूलाई स्वतन्त्रता सेनानी मानिनेछ ।

नयाँ परिभाषा अन्तर्गत, सशस्त्र बल, पूर्वी पाकिस्तान राइफल्स (इपिआर), प्रहरी, मुक्ति वाहिनी, मुजिबनगर सरकार र यसका मान्यता प्राप्त सेना, नौसेना कमाण्डो, किलो फोर्स र अन्सारका सदस्यहरूलाई पनि स्वतन्त्रता सेनानीको श्रेणीमा समावेश गरिएको छ । युद्धको समयमा पाकिस्तानी सेना र उनीहरूका सहयोगीहरूद्वारा यातना दिइएका महिलाहरू (वीरंगना) लाई पनि स्वतन्त्रता सेनानी मानिनेछ । यसका साथै युद्धको समयमा घाइते बंगला लडाकुहरूको उपचार गर्ने डाक्टर, नर्स र चिकित्सा सहायकहरूलाई पनि स्वतन्त्रता सेनानी मानिनेछ ।

पहिले शेख मुजिबुर रहमानको अपीलमा स्वतन्त्रता संग्राम सुरु भएको उल्लेख थियो भने अब नयाँ परिभाषामा उनको नाम हटाइएको छ । अब यसलाई २६ मार्च देखि १६ डिसेम्बर १९७१ सम्म चलेको सशस्त्र संघर्षको रूपमा परिभाषित गरिएको छ ।

यो संघर्ष बंगलादेशका जनताले समानता, मानवीय मर्यादा र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक देश स्थापना गर्न पाकिस्तानी सेना र यसका स्थानीय सहयोगीहरू विरुद्ध लडेको नयाँ व्यवस्थामा उल्लेख छ । यस अघि बंगलादेशको वर्तमान सरकारले जनवरीमा देशको पाठ्यपुस्तकहरूमा ठूलो परिवर्तन गरेको थियो । नयाँ पुस्तकहरूमा १९७१ मा बंगलादेशलाई मुजिबुर रहमानले होइन तर जियाउर रहमानले पाकिस्तानबाट स्वतन्त्रता दिएको उल्लेख गरिएको छ ।

जियाउर रहमान बंगलादेशका पूर्व राष्ट्रपति खालिदा जियाका पति थिए । बंगलादेशको स्वतन्त्रता पछि उनी सह(सेना प्रमुख बने । पछि उनी देशका राष्ट्रपति पनि बने । १९८१ मा सेनासँग सम्बन्धित केही व्यक्तिहरूले उनको हत्या गरे ।

बंगलादेशमा त्यहाँ स्वतन्त्रताको घोषणा कसले गर्‍यो भन्ने कुरा सधैं विवादास्पद रहँदै आएको छ । अवामी लिगले यो घोषणा बंगबंधु मुजिबुर रहमानले गरेको दाबी गर्छ, जबकि खालिदा जियाको बीएनपी पार्टीले यसको श्रेय आफ्ना संस्थापक जियाउर रहमानलाई दिन्छ ।

अगस्ट २०२४ मा बंगलादेशमा भएको विद्रोह पछि, शेख मुजिबुरहसँग सम्बन्धित प्रतीकहरूमा निरन्तर आक्रमण गरिएको थियो । ढाकामा उनको प्रतिमा तोडफोड गरिएको थियो र धेरै सार्वजनिक स्थानहरूमा जडान गरिएका नाम प्लेटहरू पनि हटाइएको थियो ।

अन्तरिम सरकारले स्वतन्त्रता र संस्थापकसँग सम्बन्धित ८ सरकारी बिदाहरू पनि रद्द गरेको थियो । शेख मुजीबुरहमान बंगलादेशका पहिलो राष्ट्रपति थिए । उनी १७ अप्रिल १९७१ देखि १५ अगस्ट १९७५ सम्म देशका प्रधानमन्त्री पनि थिए । पूर्व प्रधानमन्त्री शेख हसिनाका बुबा मुजीबुरहमानले पनि पाकिस्तानबाट बंगलादेशलाई स्वतन्त्र गराउन ठूलो भूमिका खेलेका थिए । १५ अगस्ट १९७५ मा शेख मुजीबुरहमानको उनको घरमा हत्या गरिएको थियो ।

लोकप्रिय