आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिगमा नेपाल १६ रनले विजयी
काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध जीत निकालेको छ ।
स्कटल्याण्डको डण्डीमा टस हारेर जारी सिजनको चौथो खेलमा पहिलो इनिङ ब्याटिङमा उत्रिएको नेपालले अघिल्ला खेलको तुलनामा कम रन जोडेपनि नेदरल्याण्ड्समाथि १६ रनको जीत निकालेको हो ।
नेपालले दिएको २३७ रन चुनौती पछ्याउन पेनाल्टीमा पाएको १० रनबाट स्कोर सुरु गरेको नेदरल्याण्ड्सका ब्याट्सम्यानहरू नेपालका बलरसामु निरीह बने । नेपाली बलरहरूले एकपछि अर्को विकेट लिइरहँदा नेदरल्याण्ड्सका एकपछि अर्का ब्याट्सम्यान क्रिजमा टिक्न खोजे पनि पेभेलियन फर्किरहेका थिए ।
पहिलो पारीमा ब्याटिङ गरेको नेपालले आरिफ शेखको ८४ रन मद्दतमा नेदरल्याण्ड्सलाई मध्यम चुनौती दिएको थियो । नेपालका लागि आरिफ शेखले ८५ बलमा ८४ रन बनाएपछि कुनै बेला संकटग्रस्त नेपालले पूरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३६ रन जोडेको थियो । आरिफले ८५ बलमा ७ चौका र दुई छक्का हान्दै सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । आरिफले वानडेतर्फ अहिलेसम्मकै उच्च स्कोर हानेका हुन् ।
जारी लिगको अन्तिम खेलमा जीत निकालेको नेपालले स्कटल्याण्डमै अब टी(२० सिरिज खेल्नेछ ।


प्रतिकृया दिनुहोस्