नारायण देव राणाद्वारा नेपाल लोकतान्त्रिक खेलकुद संघ (एनडीएसयू) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा

नारायण देव राणाद्वारा नेपाल लोकतान्त्रिक खेलकुद संघ (एनडीएसयू) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं : पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडी नारायण देव राणाले नेपाल लोकतान्त्रिक खेलकुद संघ (एनडीएसयू) को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राणाले आगामी भदौ २१ गते हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

पूर्व राष्ट्रिय खेल परिषद् कर्मचारी संघका अध्यक्ष समेत रहेका राणाले आफू सधैं नेपाली कांग्रेसप्रति निष्ठावान रहँदै खेलकुद र राजनीतिमा योगदान दिँदै आएको उल्लेख गर्दै भने, “पार्टीको खेलकुद विभागलाई सक्षम नेतृत्व दिन सक्ने योग्य व्यक्तित्व म नै हुँ भन्ने विश्वास राख्छु।”

राणाको उम्मेदवारीलाई समर्थन जनाउँदै बागमती प्रदेशका पूर्व खेलमन्त्री मिनकृष्ण महार्जनले वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “हालको नेतृत्व निष्क्रिय र निरुत्साही देखिएको छ। नेपाली कांग्रेसभित्र राष्ट्रका लागि योगदान गरेका धेरै खेलाडीहरू उपेक्षित छन्। संघलाई सक्रिय बनाउन राणाजस्तो सक्षम नेता आवश्यक छ।”

राणाले सन् १९९२ मा काठमाडौंमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक र १९९१ मा काठमाडौंमै सम्पन्न छैटौं एसकेएफ एशियन कराते-डो च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए। त्यसैगरी, उनले २००६ को दोहा एसियन खेलकुद, २०१२ को हङकङ र २०१८ को इन्डोनेसियामा आयोजित एशियन प्यासिफिक कराते प्रतियोगितामा नेपाली टोलीलाई प्रशिक्षण गराएका थिए।

सन् २०१५ देखि उनले नेपाल कुस्ती संघको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् भने २००७ देखि २०१३ सम्म दुई कार्यकाल राष्ट्रिय खेल परिषद् कर्मचारी संघको नेतृत्व गरेका थिए।

उम्मेदवारी घोषणा कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महार्जन, बागमती प्रदेश राष्ट्रिय खेल समितिका सदस्य रबि महार्जन, कराते प्रमुख प्रशिक्षक दिपक श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठलगायतको उपस्थिति थियो।

लोकप्रिय