एनपीएलको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ति जारी गरी दर्ता खुला गरिएको जनाएको छ । क्यानका अनुसार अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् ।
अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा दर्ता गर्न सकिनेछ । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एकभन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा थुतिने क्यानले जानकारी दिएको छ ।
बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाखसम्म पाउनेछन् । १० लाखभन्दा बढी भएमा चिट्ठा थुतिनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । त्यसपछि चिट्ठा थुतिने जनाइएको छ । खेलाडीलाई दर्ता गर्न एक हजार शुल्क लाग्ने र दर्ताको अन्तिम समय असोज १२ सम्म राखिएको क्यानको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन् ।


प्रतिकृया दिनुहोस्