देशैभर बाढि पहिरोको कहर, काठमाडौं उपत्यका जोड्ने सबै नाका बन्द

देशैभर बाढि पहिरोको कहर, काठमाडौं उपत्यका जोड्ने सबै नाका बन्द

काठमाडौं । निरन्तरको बर्षाका कारण देशैभर बाढि पहिरोका घटनाहरु भइरहेका छन् । तथ्याङ्क अनुसार अहिले सम्म देशभर गएको बाढी र पहिरोको घटनामा परेर ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । हालसम्म घाइतेको संख्या ४ जना रहेको छ भने १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ । त्यस्तै, १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।

वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ । यो समाचार तयार पर्दा सम्म काठमाडौंमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाढि पहिरोका घटनाहरु भए संगै काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएका छन् । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ ।

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका कारण हेटौंडा काठमाडौं जोड्ने लामो तथा छोटा दूरीका सबै मार्ग बन्द भएका हुन् ।

बिहीबारदेखिको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।

उता, अरनिको राजमार्ग समेत अवरुद्ध भएको सडक विभागले जनाएको छ । काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ । सबैभन्दा बढी असर विपी राजमार्गमा देखिएको बताइएको छ ।

लोकप्रिय