बाढी पहिरो नियन्त्रण गर्न ‘भेटिभरको खेती’

बाढी पहिरो नियन्त्रण गर्न ‘भेटिभरको खेती’

हेमबहादुर राना (कमल), काठमाडौँ । 

हाम्रो देश नेपालको सबैभन्दा ठूलो भाग पहाडले ओगटेको छ । हिमाल, पहाड र तराई खण्ड रहेका छन् । जसमध्ये भौगोलिक रूपमा २९.५% अर्थात १९ हजार ७ सय ८३ वर्ग किलोमिटर क्षेत्र पहाडी भाग रहेको छ । यस्तो भू–बनोटका कारण बर्षायामको समय सुरु हुनासाथ नेपालमा बाढी, पहिरोले बर्षेनी ठुलो मात्रामा धनजनको क्षति हुने गरेको छ । पछिल्लो उदाहरणका रुपमा हेर्ने हो भने पृथ्वी राजमार्गलाई लिन सकिन्छ । हालैमात्र मुग्लिन–पोखरा सडक खण्ड अन्तरगतका अधिकांश सडक सम्पन्न भएको छन् । तर, बर्षायामको सुरुवात भएसँगै राजमार्गको अधिकांश भागमा माथिबाट पहिरो खसेर वा भासिएर सडकमा ठुलो क्षति पुर्याएको छ । गएको शुक्रबार देखि आईतबार सम्म परेको अविरल बर्षाका कारण देशैभर गएको बाढीपहिरोमा पनि २०४ जना बढिले ज्यान गुमाएका छन् भने २८ जना अझै बेपत्ता छन् । देशका अधिकांश सडकहरु ध्वस्त अवस्थामा छन् । यो त पछिल्लो दृष्टान्त मात्र हो । यस्तै किसिमको समस्या देशभर बर्षेनी मनसुनको समयमा हुने गरेको छ ।

पोखरा–बुटवल सडक खण्ड अन्तरगत स्याङ्गजाको फेँदीखोला, पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ र पाल्पाको बगनासकाली गाउँपालिकाको विभिन्न ठाउँमा सडकमाथिबाट पहिरो खस्ने र सडक भासिँदा सडक क्षतविक्षद् बनिरहेको छ । विशेषत स्थानीय तहहरु बाढी पहिरोको चरम मारमा परेका छन् । अधिकांश पालिकाहरुले सडक सञ्जाल लगायत भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइरहेको छ तर बर्षातको समयमा बाढी पहिरोले सडक लगायत पुल, पुलेसा, कुलो, विद्यालय लगायतका संरचना क्षतविक्षत बनाउने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।

बाढी पहिराले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय राजमार्ग, सिंचाई आयोजना, जलविद्युत आयोजनाहरु समेत क्षतिग्रस्त बन्न पुगेका छन् । जसको कारण बर्षेनी अरबौ रुपैँया बराबरको नोक्सान राज्यले व्यहोर्नु परेको छ । सडक सञ्जाल विग्रदा सडक दुर्घटना अत्याधिक मात्रामा बढेको छ । त्यसैगरी बाढी पहिरो जस्ता प्राकृत्तिक विपत्तिकै कारण हजारौ मानिसले ज्यान गुमाउन बाध्य भएका छन् । सरकारी तथ्याँक अनुसार नेपालमा एक दशकमा १ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् । भने करिब ४ सय मानिस बेपत्ता र १ हजार ५ सयभन्दा बढी मानिस घाइते भएका छन् । यस्ता क्षति रोक्नका लागि सरकारले हरेक सम्भावनाहरुको खोजी गर्न जरुरी छ ।

हरेक वर्ष बाढी, पहिरो, डुबान लगायत विपत्तिबाट अकल्पनीय जनधनको क्षति हुने क्रम बढ्दो छ । सरकारले मनसुनको ठीक अघि हतारमा ल्याइने प्रतिकार्य योजना खोज उद्धार र राहत व्यवस्थापनमा मात्रै सीमित हुने गरेको छ । यसका लागि दीर्घकालीन र नीतिगत सुधारसहितका कार्ययोजना आवश्यक देखिएको छ । बाढी पहिरोको रोकथामका लागि अव्यवस्थित बसोबास रोक्नुपर्दछ, बन जङ्गलको फँडानी कम गर्नुपर्दछ, प्लटिङ्ग रोकिनुपर्दछ, खोला, नदीको दोहन हुनुहुँदैन, पूर्ण आकारमा बग्न दिनुपर्छ, जथाभावी डोजर र स्काभेटर चलाउनु हुँदैन । साथसाथै भेटिभर (घाँस) को खेती पनि बाढी पहिरो नियन्त्रणका एक अचुक उपाएको रुपमा लिन थालिएको छ ।

के हो भेटिवर, पहिलो नियन्त्रण कसरी गर्छ ?

नेपालमा बाढी पहिरोको जोखिम उच्च भएकाले यो घाँसको प्रयोगको आवश्यकता रहेको देखिन्छ । बगरसहित प्रयोगविहीन जग्गामा भेटिवरको रोपण अपरिहार्य छ । भेटिवरको खेती गरेपछि उक्त जग्गा उर्वर भूमिमा परिणत हुन्छ । नेपालमा खेतीयोग्य ठूलो जग्गा बर्षेनी बगरमा परिणत भएकाले यस्ता जग्गालाई भेटिवरको सहयोगमा पुनः कृषि भूमिमै फर्काउन किसानलाई सहयोग गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ । बाढीबाट नदी नियन्त्रण र पहाडी भेगमा भूक्षय गएर सडक, बस्तीमा पहिरोको जोखिम निम्तिने खतरालाई भेटिवरकै सहयोगमा व्यवस्थापन गर्न सकिन्छ । वायो इन्जिनियरिङ्ग प्रविधिभन्दा अहिले चलन चल्तिमा रहेको इन्जिनियरिङ्ग प्रविधि निकै खर्चिलो छ । यसको प्रयोग निकै प्रभावकारी मानिएपनि नेपालमा भेटिवरको प्रयोगको अभ्यास निकै कम छ ।

यो लामो समय सम्म उत्पादन हुने घाँस हो । खडेरी प्रतिरोधी, नुनिलो र पानी जमेको स्थानमा पनि सजिलै यो घाँस लगाउन सकिन्छ । यसले भूमिगत पानीलाई रिचार्ज गर्न पनि सहयोग प्रदान गर्छ । यसले प्रदूषणयुक्त पानीलाई शुद्धीकरण गरी पानीको गुणस्तरमा सुधार गर्ने प्रक्रियामा उल्लेखनीय भूमिका खेल्दछ । यसबाहेक फलाम तथा अन्य खानी भएको भूमिलाई पनि उर्वर भूमिमा परिणत गरिदिने चमत्कारिक घाँस हो यो । धधध।खभतष्खभच।यचन मा भेटिवरका बारेमा धेरै जानकारी उपलब्ध छ ।

जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने क्षमता भएको भेटिवर झट्ट हेर्दा काँचजस्तो देखिने घाँस हो । यसको वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स हो । यसलाई खस खस भनेर पनि चिनिन्छ । बाह्रै महिना उम्रिने यो गुच्छेदार घाँस हो । साढे १ मिटर (५ फिट) सम्म अग्लो हुने यसका पात उखुको जस्तो तर अलि साँघुरो हुन्छ । यसको डाँठ भने सिधा र कडा हुन्छ । यसको टुप्पोमा स–साना खैरो प्याजी रंगका फूल फुल्छन् । यसको सबैभन्दा महत्वपूर्ण भाग जरा हो । यसको जरा जमिनमुनि ३ मिटर (१० फिट) भन्दा तलसम्म पुग्छ भने जमिन माथि यो लगभग ५ फिट उचाईसम्म जान्छ । अम्लीय र क्षारीय दुवैखाले गुण भएको माटोमा यो घाँस सजिलै उमार्न सकिन्छ ।

व्यावसायिक लाभ पनि उस्तै

नेपालको पहाडी क्षेत्रमा झण्डै १३ हजार वर्गकिलोमिर जग्गा प्रयोगविहीन र काम नलाग्ने अवस्थामा रहेका छ । भिरपाखा, खोलानाको निकार, बालुवा र ढुङ्गाले पुरेर बनाएको बगर जग्गा, ऐलानी तथा अन्य प्रकारका अव्यवस्थित जग्गामा सरकारले कम्तिमा लामो अवधिको लागि भाडामा उपलब्ध गराइदिनुपर्छ । बाढीले बगरमा परिणत गरेको करिब ५ लाख हेक्टर जग्गालाई पुनः उर्वरमय बनाउन सकिन्छ । यो ५ लाख हेक्टर जग्गालाई कृषि यान्त्रीकरणको सहयोगमा व्यवसायिक र आधुनिक तवरले पर्माकल्चरमा आधारित एग्रो फोरेष्ट्रीको अवधारणा कार्यान्वयनमा ल्याउन सक्ने योजनालाई साकार पार्न सकिन्छ । बाढीले बगर बनाइदिएको जग्गालाई पूर्व अवस्थामै ल्याएर किसानको जीवनस्तर सुधार्न सकिन्छ । यस्तो अवस्थामा सरकारले जग्गा उपलब्ध गराउन सके उपयोगविहीन जग्गाको सदुपयोग गरी कृषिमा क्रान्ति गर्न सकिन्छ ।

यस्तो जग्गाको सदुपयोग गरी प्रमुख खाद्यान्न, तरकारी, फलफूल, गेडागुडी, जडिवुटीजन्य बस्तुको पर्याप्त परिमाणमा दिगो उत्पादन गर्न सकिन्छ । साथै कृषिजन्य उद्योग कलकारखानालाई आवश्यक पर्ने विभिन्न प्रकारका कच्चा पदार्थ दिगो रुपमा उपलब्ध गराउनुका साथै सरकारी सहयोगमा २० देखि २५ लाख युवाशक्तिलाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्न सकिन्छ । यसमा बाढीले बगरमा परिणत गरेका जग्गाधनी किसानलाई पनि रोजगारीको अवसरमा जोड्न सकिन्छ । यसका साथै बायो इनर्जीको ग्यारेन्टी, अर्थतन्त्रमा टेवा, खाद्य तथा पोषणयुक्त खाद्य पदार्थको उत्पादन र सुरक्षा, स्वच्छ वातावरण, रोजगारको ग्यारेन्टी, वैदेशिक व्यापार घाटालगायतका क्षेत्रमा ठूलो सहयोग गर्न सकिन्छ ।

यो घाँसको सहयोगमा बाढीको प्रभावलाई अधिकतम मात्रामा कम गर्न सकिन्छ । भेटिभरले खोलोलाई नियन्त्रण गर्दै माटोको कटानलाई रोक्न सकिन्छ । साथै बगरमा परिणत भएको जग्गालाई सधैको लागि कृषियोग्य जग्गाको रुपमा फर्काउन सकिन्छ । भेटिवर एउटा वायो इन्जिीनियरिङ्ग टुलका साथै सस्टेनेवल एग्रीकल्चर र गरिवी निबारण गर्ने ठुलो माध्यम हो । भेटिभर ड्याम (बाँध) को काम गर्न सक्षम छ । जहाँबाट जग्गा कटान भएको छ, त्यहाँ भेटिभर रोपेमा पुनः त्यहाँ बाढी आउँदा रोक्न सक्षम हुन्छ ।

जीवन दिन्छ भूक्षय र बगर खेतलाई

गरिबी र वेरोजगारी समस्या समाधान गर्न, उत्पादन बृद्धि गर्न, पोषणयुक्त खाद्य सुरक्षाको ग्यारेन्टी गर्न, रोजगारको प्रत्याभूति, इनर्जी सेक्युरिटी, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन र स्वच्छ वातावरण तयार पार्न एउटै सर्वोतम विकल्प हो, कृषितन्त्र । नेपालमा प्रतिव्यक्ति सिँचित जग्गाको स्वामित्व ०.०७ हेक्टर मात्रै छ । यो सानो क्षेत्रफलले व्यवसायिक र आधुनिक प्रणालीबाट कृषि कर्म गर्न सम्भव छैन । न त कृषिमा आत्मनिर्भर भएर बढ्दो आयात दरलाई कम गर्न सक्छौं । अर्को महत्वपूर्ण पाटो व्यवसायिक, अत्याधुनिक र वैज्ञानिक तबरबाट कृषि खेतीपाती गर्न उपयुक्त क्षेत्रफल भएको जग्गा पनि उपलब्ध छैन ।

स–साना टुक्रामा बाँडिएका जग्गाबाट अबको समयमा कृषि प्रणालीलाई अगाडि बढाउन सम्भव छैन । अब हामी कतैबाट पनि खेतीयोग्य जग्गा थप्न सक्ने अवस्थामा छैनौ । हामीसँग दुई विकल्प मात्रै छन् । एउटा प्रयोगविहीन जग्गालाई भेटिवरको सहयोगमा उर्वर भूमिमा परिणत गरी पर्याप्त उत्पादन लिने र अर्को मल्टि लेयर प्रविधिमा आधारित कृषि प्रणालीलाई आत्मसात गर्ने । नदी तटीय क्षेत्रमा हुने बाढीको बहाव, कटान रोक्ने मात्रै होइन, बाटोमा पहिरो भएर भूक्षय रोक्न भेटिवरले जैविक पर्खालको काम गर्ने विज्ञहरुको भनाई छ । भारत, अमेरिका, केन्या, थाइल्यान्डलगायतका मुलुकका सडक र नदी किनारमा भूक्षय रोक्न भेटिवरको प्रसस्त रुपमा रोपण गरिएको छ ।

भारतको आन्ध्र प्रदेशमा गरिएको प्रयोगले पानीको वहावमा ६९ प्रतिशत र भूक्षयमा ७६ प्रतिशत कमी आएको देखाएको छ । भेटिवरको प्रयोगले भूक्षयलाई प्रति हेक्टर ११ टनबाट ३ टनसम्म घटाएको पाइएको छ । भिरालो जमिनमा लहरै रोपिएका भेटिवरले पानीलाई रोक्ने छेकवारको जस्तै काम गर्छ । यो घाँसले पानीको बहावको गति घटाउने र पानीलाई माटोमै शोषण गरी राख्ने भएकाले भूक्षय घटाउन सम्भव भएको हो । आगलागी भएपनि यो ३ हप्तामा पुनः उम्रिन्छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संघ (एफओ) का साथै विश्व बैंकले समेत बाढी पहिरोबाट प्रभावित भएको कृषियोग्य जग्गामा भेटिभरको रोपण गरेर कृषिमा कायापलट गर्न सक्ने प्रतिवेदन दिएको छ ।

भेटिबरको उपयोगिता

विभिन्न कारणले भेटिवर मानव जातिको लागि निकै ठूलो वरदान सावित भएको छ । यसको जरा, डाँठ (काण्ड) र पात सबै लाभदायक मानिन्छ । भेटिवरको जराबाट बास्नादार तेल तयार हुन्छ र यस्तो तेलको उच्च मूल्यका औषधी तथा अत्तरमा प्रयोग गरिन्छ । एक हेक्टरमा भेटिवरको खेती गर्दा ३ देखि ४ टनसम्म जरा उत्पादन हुन्छ । यो जराबाट करिब १५ लिटर तेल उत्पादन गर्न सकिन्छ । यस्तै यसको पातको प्रयोग गरी इथानोल उत्पादन गर्न सकिन्छ । चिनी र उखुको वैकल्पिक रुपमा पनि यो घाँसलाई प्रयोग गर्न सकिन्छ । भारत र नाइजेरियामा त साँध छुट्टयाउनका लागि पनि यसको प्रयोग गरिएको छ । जिम्बाबे, मौरिससलगायतका मुलुकका किसानले बालीनाशक झारबाट बालीलाई जोगाउन यो घाँस लगाउने गरेका छन् । भेटिभरसहित नैपियर घाँस, सोइजन (मोरिङ्गा), बाँस, उखु, मकै, अश्वगन्धा, बेसार, गेडागुडी, फलफूल, तितेपाती, दलहनजस्ता बहुगुणी वालीको खेती गर्न सकिन्छ । अहिले मुलुकमा देखिएको विभिन्न प्रकारका खाद्यान्न, फलफूल, तरकारी, दलहन, तेलहन बस्तुको अभाव, खाद्य असुरक्षा र कुपोषणजस्ता समस्या पनि यसको खेतीबाट अन्त्य गर्न सकिन्छ ।

जोडौं औद्योगिक उत्पादनसँग

यस्तो वालीबाट आउने विभिन्न प्रकारका कच्चा पदार्थको सहयोगमा चिनी, कागज, डेरी, प्रशोधित तथा सुगन्धित तेल र अत्तर उद्योग आदि दीर्घकालीन रुपमा सञ्चालन गर्न सकिन्छ । विभिन्न प्रकारका बोटविरुवाको पात, डाँठ र झारपातबाट बायोमास, वायोमासबाट वायो ग्यास र वायो ग्यासबाट सीएनजी पनि ठूलो परिमाणमा उत्पादन गर्न सकिन्छ । यसबाहेक यस्तो जग्गामा पशुपालनदेखि माहुरी पालन पनि गरी पर्याप्त परिमाणमा महसमेत उत्पादन गर्न सकिन्छ । बालीहरु भ्यालु चेनको आधारमा थप अर्को उत्पादन लिन सकिन्छ । विभिन्न प्रकारका जडिवुटीबाट औषधीजन्य उत्पादन गर्न सकिन्छ । गुणस्तरीय औषधी उत्पादन गरी ग्लोबल मार्केटिङ गरी नेपालको मल्टिनेशनल ब्राण्ड नै स्थापना गर्न सकिन्छ । यसका साथै यसलाई एग्रो टुरिज्मको अवधारणासँग पनि जोड्न सकिन्छ ।
भेटिभरको तेल, वायोमास तथा जरा बिक्री गरेर किसानले राम्रो आम्दानी लिन सक्षम हुन्छन् । यसबाहेक उनीहरुले कार्वन क्रेडिटबाट लाखौं रुपियाँ बराबरको आय आर्जन गर्न सक्छन् । नेपालमा कार्वन उत्सर्जन बार्षिक करिब ८० लाख टन छ । यो योजना अनुसार वायो इनर्जीको उत्पादनले यो उत्सर्जनलाई पूर्ण रुपमा निषेध गर्न सकिन्छ । जुन निषेध भएपछि कार्वन उत्सर्जनको क्वान्टम त्यसै पनि निकै न्युन हुन जान्छ ।

एक हेक्टरबाट औषत ४५ टन वायोमास उत्पादन हुन सक्छ । यस हिसाबले ५ लाख हेक्टरबाट २ करोड २५ लाख टन वायोमास उत्पादन गर्न सकिन्छ । यो वायोमासलाई प्रशोधन गर्दा कम्तिमा १ करोड ८० लाख टन अर्गानिक मल उत्पादन हुन सक्छ । यस्तै प्रचुर परिमाणमा वायो ग्याससहित वायो सीएनजी उत्पादन गर्न सकिन्छ । वायो ग्यासको सदुपयोग गरी अहिले खाना पकाउन प्रयोग हुने एलपी ग्यासलाई विस्थापित गर्न सकिन्छ । आर्थिक रुपमा हेर्दा अर्गानिक मल प्रति किलो १० रुपैयाँका दरले मात्रै हिसाव गर्दा १ खर्ब ६३ अर्ब २९ करोड ३२ लाख मूल्य बराबरको १ करोड ८० लाख टन अर्गानिक मल तयार हुन्छ । अहिले नेपालमा मल आयात गर्नका लागि सरकारले करिब ११ देखि १५ अर्ब रुपैयाँसम्म अनुदान उपलब्ध गराउँदै आएको छ । इन्धनको नाममा हुने ठूलो आयातलाई पनि यसको सहयोगमा धेरै हदसम्म प्रतिस्थापन गरिन्छ ।

स्थानीय तहका लागि उपयोगि

देशका तीन तहका सरकार मध्ये स्थानीय तह जनता संग प्रत्यक्ष जोडिएको हुने भएकाले भेटिभर स्थानीय तहको लागि धेरै उपयोगि हुने देखिन्छ । बाढिपहिरोजन्य घटनाहरु कम गर्न साथै यसको उपयोग गरेर रोजगारी सिर्जना गर्न सकिन्छ । भेटिभरको जराबाट विभिन्न किसिमका प्रोटक्टिभ सामाग्रीहरु निर्माण भएकाले स्थानीय तहले यसलाई भरपुर रुपमा लगाएर बाढि पहिरो रोगथाम संग संगै आय आर्जनको रुपमा समेत लिन सकिन्छ । यसमा प्रदेश सरकार तथा संघीय सरकारले पनि यसलाई प्रोत्साहन गर्न सकिन्छ । भेटिभरको व्यवसायिक खेती गर्न सकेमा प्राकृतिक विपत्ति रोकथाम र आज आर्जनको नयाँ बाटो बन्न सक्छ ।

लोकप्रिय