आज साँझदेखि मेलम्चीको पानी उपत्यकामा आउँदै

आज साँझदेखि मेलम्चीको पानी उपत्यकामा आउँदै

काठमाडौं । काठमाडौंका बासिन्दाले सोमबारदेखि पुनः मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन् । वर्षायाम शुरु भएसँगै रोकिएको पानी आजदेखि पुनः काठमाडौं ल्याउन लागिएको हो । वर्षा सकिए पनि स्थानीय बासिन्दाको अवरोधका कारण पानी ल्याउन सकिएको थिएन ।

मेलम्ची सङ्घर्ष समितिसँग गएराति १० बजेसम्म भएको वार्तामा सहमति भएसँगै साँझदेखि पानी काठमाडौं ल्याउन लागेको खानेपानी मन्त्री प्रदीप यादवले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए ।

मेलम्चीको बाढीप्रभावितले राख्दै आएका माघ केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सहमति भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

उनका अनुसार मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भेलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडक कालोपत्रेका लागि प्राथमिकतामा राखेर संघीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने सहमति भएको छ ।

बाढीले बगाएका मेलम्चीको पुल, चनौटेको रातोपुल, कात्तिके, घट्टेखोला, हल्दे, तिम्बु, नाकोते, तालामाराङ भट्टार, गोरेखोला र सर्कथलीको पुल निर्माणका लागि पहल गर्ने सहमति भएको छ ।

त्यस्तै चिउरीखर्क, ओडारे, तिम्बु, ढोरोसिंह, थापाटार(भाङटार, महांकाल, तारूकेटार, ज्यामिरे, शेराचौकी, पाल्चोक शेरा र ग्याल्थुमबाट पाल्चोक गैरबेसी झोलुङ्गे पुल निर्माणका लागि विशेष पहल गरी बजेट व्यवस्था गर्ने सहमति भएको छ ।

लोकप्रिय