उपनिर्वाचनमा उम्मेदवारको खर्चको हद निर्धारण

उपनिर्वाचनमा उम्मेदवारको खर्चको हद निर्धारण

काठमाडौं । मंसिरमा हुन लागेको स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै खर्चको सीमा तोकिएको जनाएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटका अनुसार महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तीन लाख र उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख खर्च गर्न पाउनेछन् ।

यसैगरी, गाउँपालिका वडा अध्यक्ष पदका उम्मेदवारले एक लाख ५० हजार खर्च गर्न पाउनेछन् । उनले महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले सात लाख ५० हजार, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पाँच लाख ५० हजार, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार खर्च गर्न पाउने गरी आयोगले तोकेको पनि प्रष्ट पारे । यस्तै, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५० हजार खर्च गर्न पाउनेछन् ।

उनका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्मका लागि खर्चको हद निर्धारण भएको छ । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदै छ ।

लोकप्रिय