सरकारविरुद्ध काठमाडौँमा माओवादीको खबरदारी सभा

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संघीय राजधानी काठमाडौँमा खबरदारी सभा आयोजना गरेको छ । भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टीको दाबी छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो ।
बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले दाबी गरे ।
आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिए । उनका अनुसार अध्यक्षसहित पदाधिकारी, प्रदेशका अध्यक्षहरू ब्यानरमा रहनेछन् । झण्डा, व्यानहरूको सबै तयारी पुरा भइसकेको छ।
जुलुस बागबजार, प्रदर्शनी मार्ग हुँदै १२ः ३० मा भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने सिंखडाले जानकारी दिए । करिब २ घण्टामा कार्यक्रम सकिने उनले जानकारी दिए । जुलुसमा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुनेछन् । उपत्यका बाहिरबाट कम सहभागी हुने सिंखडाले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस्