तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले खतरा टार्यो ।
दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । सुरुवातमा रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकियो । खेल सुरु भएको केही बेरमा भारतले संगीता बास्फोरको उत्कृष्ट गोलमा अग्रता लियो । नेपालले लगत्तै भारतले गोलको खुसी मनाइरहेको अवस्थामा किकअफमा गोल गर्यो तर रेफ्रीले आफैं व्हिसल बजाएर खेल सुरुवात गरेपनि पछि गोललाई मान्यता दिइनन् । तनावपूर्ण खेल झण्डै डेढ घण्टापछि पुनः खेल सुरु भएको थियो ।
खेल सुचारु भएको केहीबेरमा नेपालले गोल फर्कायो । सावित्रा भण्डारी (साम्बा)ले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल बराबरी हुँदै टाइब्रेकरमा पुग्यो ।
टाइब्रेकरमा भारतको पहिलो प्रहारमा कप्तान आशालता देवीले गोल गर्न सकिनन् । साम्बाले नेपालको पहिलो पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रतामा पुर्याइन् । भारतकी मनिषाले दोस्रो प्रहारमा गोल गरिन् । नेपालकी गीता रानाले गोल गर्दै २-१ को अग्रतामा पुर्याइन् । त्यसपछि पुरुषोत्तम शिरोभ्करले गोल गर्दै खेल २-२ मा ल्याइन् । सविताले तेस्रो प्रहारमा गोल गर्दै खेलमा नेपालको अग्रता कायम राखिन् । भारतको चौथो प्रहार गरेकी रन्जना चानुको पेनाल्टीलाई अन्जनाले रोकिन् । त्यसपछि अमिषा कार्कीले गोल गर्दै नेपाललाई जित दिलाइन् ।


प्रतिकृया दिनुहोस्