आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै मनाइदै

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै मनाइदै

काठमाडौं । आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व, बिहीबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदै देशभर छठ पर्व मनाइदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउन लागेका हुन् ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठपर्व मनाउने परम्पराको थालनी भएको बताइन्छ ।

​सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ । मुख्य दिन शुक्ल षष्ठी भए पनि छठ चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।

विशेषगरी मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई मधेशभर मात्र नभई काठमाडौं उपत्यकामा समेत धुमधामसहित मनाइन्छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी, बागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

लोकप्रिय