नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग
काठमाडौँ । नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । थापा मगरको १४८औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा मगरलाई प्रजातन्त्र एवम् लोकतन्त्रको प्रतीकका रुपमा राष्ट्रिय विभूती घोषणा गर्न माग गरिएको हो । प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठान र नेपाल मगर संघ केन्द्रीय कमिटिले संयुक्त रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्द्री पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै विभूती घोषणा गर्न माग गरिएको हो ।
कार्यक्रममा इतिहासविद् प्रा.डा. श्रीराम प्रसाद उपाध्यायले शहीलाई सम्मान गर्नु नै गणतन्त्र नेपालको सम्मान भएको बताउँदै लखन थापा सबै प्रमाण, डकुमेन्टको आधारमा राष्ट्रिय विभूति हुनु योग्य रहेको भन्दै सरकारसंग घोषणा गर्न माग गरेका हुन् । परिवर्तनको विद्रोह गर्दै प्रजातन्त्रको लागि आफ्नो ज्यान दिएका थापालाई विभूति घोषणा गर्नु नै ठूलो सम्मान हुने बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्द्री प्रसाद पाण्डेले थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने बिषयमा विज्ञहरुसंग छलफल गरेर निश्कर्षमा पुग्ने बताए । त्यति बेलाका लखन थापाले चाहेको नेपाल अहिलेको नेपाल भएको भन्दै पाण्डेले थापाको नाममा स्थापना हुने संग्राहलयमा पनि संघीय सरकारको सहयोग गर्ने आश्वासन दिएका छन् ।

४ बुँदे मागपत्रमा प्रथम शहीद थापा संगै सहादत प्राप्त गरेका जयसिंह चुमी राना मगर, बिराज थापा मगर, जीतमान गुरुङ्ग, जुठ्या थापा मगर, अजपसिँह थापा मगर र पलसिं अछामी मगरलाई समेत शहीद घोषणा गर्न माग गरिएको छ । यस्तै थापाको गौरवगाथा विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरुमा समावेश गरी पठन पाठ्नको व्यवस्था गर्नुपर्ने माग समेत गरिएको छ ।

कार्यक्रममा नेपाल मगर संगका सल्लाहकार ओम घर्तीमगरले सम्पूर्ण अन्य शहीद जस्तै प्रथम शहीद लखन थापालाई सोही हिसाबमा सम्मान गर्नुपर्नेमा जोड दिए । नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर र प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानका अध्यक्ष जीवन आले मगरले प्रथम लखन थापा मगरको नाममा काठमाडौँमा संग्राहलय स्थापना गर्न सहयोगको लागि सम्पूर्णमा आह्रवान समेत गरेका छन् ।


प्रतिकृया दिनुहोस्