शिक्षामन्त्री भट्टराईद्वारा समयमै परीक्षाफल,डकुमेन्टको व्यवस्था मिलाउन निर्देशन

शिक्षामन्त्री भट्टराईद्वारा समयमै परीक्षाफल,डकुमेन्टको व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पढाइ सकिएकै वर्षमा परीक्षाफल प्रकाशन र ट्रान्सक्रिप्ट वितरणलाई समयमै व्यवस्था मिलाउन निर्देशन दिएको जनाउनुभएको छ ।

मंगलबार त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच भएको बैठकमा शिक्षामन्त्री विद्या भट्टराईले प्रमाणपत्र उपलब्ध गराउन अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल आवेदन दिन मिल्‍ने गरी यस्तो निर्देशन दिनुभएको हो ।

बैठकमा त्रिविको वार्षिक क्यालेण्डर कार्यान्वयन, स्ववियु निर्वाचन व्यवस्थापन, समकक्षता समयमै दिने र परीक्षाफल प्रकाशन तथा अनलाइनबाटै ट्रान्सक्रिप्ट वितरणलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको शिक्षामन्त्री विद्या भट्टराईले बताउनुभएको छ । त्रिविको वार्षिक क्यालेण्डरलाई कडाइका साथ कार्यान्वयन गर्ने र यसका लागि आवश्यक परे जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको छ । आंगिक क्याम्पसहरूलाई पनि अनिवार्य रूपमा क्यालेण्डर कार्यान्वयन गर्ने सहमति भएको छ ।

यस्तै स्ववियु निर्वाचनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा पनि छलफल भएको छ। आगामी चैत पाँच गते निर्वाचन गर्ने निर्णय भएको छ। क्याम्पसहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र निर्वाचन सम्पन्न गर्ने, निर्वाचन स्थगित भएमा १५ दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने तथा मन्त्रालय र विश्वविद्यालयबीच सीधा सम्पर्क कायम गरी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापन गर्ने सहमति भएको छ ।

 

लोकप्रिय