परराष्ट्रमन्त्री डा देउवा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त रहनुभएको छ । नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएकी परराष्ट्रमन्त्री डा देउवाले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरुसँग ‘साइडलाइन’ भेटवार्ता गर्नुभएको छ ।
ती भेटवार्ताका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ सम्मका लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी घोषणा गरेको नेपाललाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।
राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को यस उच्चस्तरीय सत्रमा सहभागी विश्वका नेता तथा मन्त्रीहरुले मानवअधिकारको रक्षा र प्रवद्र्धनका क्षेत्रमा नेपालको भूमिका तथा शान्ति प्रक्रियामा नेपालले अपनाएको ढाँचा उदाहरणीय रहेको भन्दै सराहना गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्