सुरौदी खोलाको जलाधार क्षेत्र वर्षामा कटान नियन्त्रण नहुँदा बर्सेनि समस्यामा
काठमाडौं । गण्डकी प्रदेशको कास्की, स्याङ्जा र तनहुँ जिल्लाका भू–भागहरू समेटर बग्ने सुरौदी खोलाको जलाधार क्षेत्र वर्षामा पानीको कटान नियन्त्रण नहुँदा बर्सेनि समस्यामा पर्दै आएका छन् ।
जलाधार क्षेत्रका स्थानीय पुलको अभावसँगै खोला आसपासका उब्जाउ योग्य भू–भागमा यहाँको पानीको उपयोग नहुँदा सिँचाइविहीन बनेका छन् भने वर्षामा खोलाले गर्ने कटानका कारण लगाएको बालीसमेत भित्र्याउन पाउने या नपाउने अन्योलता बर्सेनि पर्ने गरेको छ ।
खोलाको कटान नियन्त्रण हुन नसक्दा खेतीयोग्य जमिन बर्सेनि बगर बन्दै जाँदा आफूहरू समस्यामा परिरहेको किसानहरुले उल्लेख गरेका छन् । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले बर्सेनि खेतीयोग्य जमीन कटान गरिरहे पनि यसतर्फ राज्यको चासो पुग्न नसकेको उनिहरुको गुनासो रहेको छ ।
जलाधार क्षेत्रमा अत्यावश्यक झोलुङ्गे पुलको निर्माणसँगै खोलाको कटान नियन्त्रणमा राज्यले चासो दिएमा यो कृषि उत्पादन र जल पर्यटनका माध्यमबाट आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण उपलब्धि हुने किसानहरुको दाबी रहेको छ ।


प्रतिकृया दिनुहोस्