सगरमाथा संवादको सम्पूर्ण तयारी पुरा, राष्ट्राध्यक्ष तहको प्रतिनिधित्व नहुने

सगरमाथा संवादको सम्पूर्ण तयारी पुरा, राष्ट्राध्यक्ष तहको प्रतिनिधित्व नहुने

काठमाडौं । नेपाल सरकारले काठमाडौंमा आयोजना गर्न लागेको सगरमाथा संवादको सम्पूर्ण तयारी पुरा भएको छ ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले मंगलबार ‘सगरमाथा संवाद’ बारेमा पत्रकारहरुलाई ब्रिफिङ गर्दै आगामी जेठ २ देखि ४ गतेसम्म हुने ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको र संवादमा यसपटकको विषयवस्तु ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ ह्युमानीटी’ रहेको जानकारी दिइन् ।
नेपालले स्थापना गरेको अन्तर्राष्ट्रिय फोरम हो ।

‘सगरमाथा संवाद’ पहिलो संस्करणमा सहभागी हुन कुनै पनि देशबाट सरकार प्रमुख तथा राष्ट्राध्यक्ष नआउने भएका छन् । सहभागिता जनाउने केही देशले मन्त्रीस्तरीय प्रतिनिधिमण्डल, केहीले विशेष प्रतिनिधि र केहीले राजदूतलाई सगरमाथा संवादमा पठाउने भएको जानकारी प्राप्त भएको छ ।

सरकारले ३५० जनाभन्दा बढी विदेशी पाहुनालाई निमन्त्रणा पठाएको थियो । त्यसमा थुप्रै देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख पनि थिए । तर सगरमाथा संवादमा कुनै एक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले हालसम्म सहभागी हुने जानकारी अहिलेसम्म दिएका छैनन् ।

परराष्ट्रमन्त्री डा.राणाले सगरमाथा संवादमा करिब १७५ जना विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी गरी जम्मा करिब तीन सय५० जना सहभागीहरूले भाग लिनुको साथै १२ देशबाट उच्च तहबाट प्रतिनिधिमण्डल सहभागी हुनेसमेत जानकारी गराएकी छिन् ।

सगरमाथा संवादमा ६१ देशका अन्तर्राष्ट्रिय संघसंस्था पनि सहभागी हुने जानकारी दिइएको छ । चीनबाट १४औँ राष्ट्रिय जन कांग्रेस ९एनपीसी० का स्थायी कमिटी उपाध्यक्ष सियाओ जी सहभागी हुनेछन् भने भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव नेतृत्वमा एक प्रतिनिधिमण्डल सहभागी हुने बताइएको छ ।

त्यस्तै अजरबैजानबाट कोप २९ का अध्यक्षसमेत रहेका पर्यावरण तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ नेतृत्वको प्रतिनिधिमण्डल सगरमाथा संवादमा सहभागी हुनेछन् भने बंगलादेशबाट समाज कल्याण मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयकी सल्लाहकार शर्मिन सोनेया मुर्शिद सगरमाथा संवादमा सहभागी हुनेछिन् । भुटानबाट ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छेरिङको नेतृत्वको प्रतिनिधिमण्डलले सगरमाथा संवादमा सहभागीता जनाउने जानकारी दिइएको छ ।

त्यस्तै अन्य धेरै जसो देशबाट पनि मन्त्रीस्तरकै प्रतिनिधित्व हुन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । परराष्ट्रमन्त्री डा.राणाले सगरमाथा संवाद एक बहु–सरोकारवाला संवाद मञ्च भएको र यसले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमा छलफल गर्ने बताएपनि राष्ट्राध्यक्ष तहको प्रतिनिधित्व गराउन नसकेपछि यसको औचित्यर उद्धेश्य पुरा हुनेमा प्रश्न उठेको छ ।

लोकप्रिय