ओली-देउवाको दूरी बढ्दै जानुको कारण !

ओली-देउवाको दूरी बढ्दै जानुको कारण !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हुने भनिएको भेटवार्ता नभएपछि सरकार ढल्ने अड्कलबाजी शुरु भएको छ ।

सोमबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक समेत स्थगित गरिएको थियो । गभर्नर नियुक्तिको विषय पेचिलो बनेपछि कांग्रेस-एमाले दुवैले अब यस विषयलाई प्रतिष्ठाको विषय बनाएका छन् । यसअघि कांग्रेसले गभर्नर पाउने सहमति प्रधानमन्त्री ओलीले तोडेपछि समस्या आएको कांग्रेस वृतमा चर्चा छ ।

गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओली र देउवाबीच नै छलफल नभएपछि अब सरकारको भविष्यको बारेमा प्रश्न उठेको छ । प्रधानमन्त्री ओलीले यस अघि कांग्रेसले प्रस्ताव गरेका डा गुणकर भट्टलाई अस्विकार गरेपछि अहिले कांग्रेसले डा  विश्व पौडेललाई प्रस्ताव गरेको छ । तर पौडेलप्रति पनि प्रधानमन्त्री ओली सकारात्मक नभएपछि समस्या आएको छ ।

देउवाले सार्बजनिक रुपमै पटक पटक गभर्नर कांग्रेसले नै पाउने बताउदै आएका थिए । तर प्रधानमन्त्री ओलीले गभर्नर नछोड्ने मनसायले एक पछि अर्को गर्दै अवरोध र बहाना गरेपछि देउवाले अब ओलीप्रतिको भरोसामा शंका गरेको बताइएको छ । अदालतमा एकपछि अर्को मुद्धा दायर हुनुमा पनि ओली र उनको सचिवालयकै भूमिका रहेको बुढानिलकण्ठको बुझाइ रहेको छ । गभर्नरका लागि देउवाले अघि सारेका हरेक उम्मेदवारलाई प्रधानमन्त्री ओली र उनको टिमले अस्वीकार गर्दै आएको छ, अदालती झमेलामा पारेको छ ।

कांग्रेस भित्र ओलीविरुद्धका आवाज चर्किरहेका बेला गभर्नर प्रकरणमा देउवाले धोका पाएपछि उनले अब विकल्प सोच्न बाध्य हुने अवस्था सिर्जना हुन थालेको विश्लेषण शुरु भएको छ । यसैबीचमा केहि दिनअघि देउवासँग माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले गरेको भेटलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । विगतमा कांग्रेस–माओवादीको गठबन्धनका योजनाकार समेत रहेका जनार्दनले देउवालाई उनको निवासमा गएरनै भेट गर्नुले सरकारको विकल्पको तयारी शुरु भइसकेको रुपमा समेत हेर्न थालिएको छ ।

अहिले कांग्रेस सरकारमा भएपनि सरकारमा भए जस्तो नदेखिएको भन्दै कांग्रेसका महामन्त्रीद्वयसहित धेरै नेताहरुले सरकारको पैरवी गर्न छोडिसकेका छन् । त्यसैले पनि अब ओली नेतृत्वको सरकारको भविष्यमा प्रश्न उठ्न शुरु भएको छ ।

 

लोकप्रिय