जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने :राष्ट्रपति पौडेल

जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने :राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपतिले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध भएको बताएका हुन्।

२०६३ साल जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाउन थालिएको हो।

“नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गििक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ,” सन्देशमा भनिएको छ।

लोकप्रिय