सामाजिक विकास समितिले झण्डै एक वर्षपछि पाउनेभयो सभापति
काठमाडौं । झण्डै एक वर्षदेखि रिक्त रहेको गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समिति अन्ततः माओवादी केन्द्रले पाउने भएको छ।
समित सभापति फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएपछि जेठ २०८० यता नेतृत्वविहीन बनेको समितिमा सभापति चयन गर्न जेठ २३ गते गरिने भएको छ। परिवर्तित राजनीतिक परिवर्तनसँगै देवकोटा दुई पटक ऊर्जा मन्त्री बने। तर राजनीतिक सहमति जुट्न नसक्दा समिति नेतृत्वविहीन रह्यो। यसबीचमा सभापति चयन गर्न आवश्यक देखिएपछि चैत २६ गते प्रदेश सभाले नियमावली संशोधन गर्यो। तर नियमावली संशोधन भएको दुई महिना बितिसक्दा पनि सभापति चयन हुन सकेको थिएन।
अब भने नियमअनुसार जेठ २३ गतेभित्र सभापति टुंग्याउनुपर्ने बाध्यताले राजनीतिक दललाई सहमतिमा ल्याएको छ। प्रारम्भमा सार्वजनिक लेखा समिति माग्दै आएको माओवादी अन्ततः सामाजिक विकास तथा कृषि समिति लिन तयार भएपछि सहमति जुटेको हो।
सार्वजनिक लेखा समितिमा एमालेले नेतृत्व नछाड्ने अडान राखेपछि माओवादीलाई अर्को समिति दिने सहमति कांग्रेस र एमालेबीच बनेको हो। अब माओवादीले पाउने पक्का भएको चौथो समिति सामाजिक विकास तथा कृषि समिति भने वर्षदिनपछि मात्र नयाँ नेतृत्व पाउन लागेको छ।


प्रतिकृया दिनुहोस्