फेदीखोलाले गर्यो हल गोरु पालक किसानलाई अनुदान सहित सम्मान, कृषि उत्पादनमा जोड दिन आग्रह
स्याङ्जा । जिल्लाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप अनुदान रकम वितरण गरेको छ । फेदीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत हलगोरु पाल्ने कृषकलाई ७५ प्रतिशत प्रोत्साहन अनुदान रकम वितरण गरेको हो ।
पछिल्लो समय आधुनिक यन्त्रको विकास भएपनि कृषकहरु घट्दै जाने, खेती योग्य भूमि बाझो छोड्ने, प्राङगारीक मल नहुँदा उत्पादनमा कमि आउने जस्ता प्रवृत्ति बढिरहेकाले कृषकको नैराश्यता हटाउन गाउँपालिकाले प्रोत्साहान स्वरुप उक्त कार्यक्रम लागु गरेको हो ।

जैविक विविधता वातावरणीय प्रभावमा समेत महत्वपूर्ण टेवा पुर्याएका गोरु पालक कृषकलाई सम्मान स्वरूप अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘कृषकको उत्पादन प्रक्रियादेखि बजारीकरण सम्म स्थानिय सरकार कृषकको साथमा छ’, अध्यक्ष सुवेदीले भने, ‘उत्पादनमा आधारित अनुदान, बाझो जमीन उपयोग प्रोत्साहन, न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि एम्बुलेन्स जस्ता प्रत्यक्ष किसानले लाभ महसुस गर्ने कार्यक्रम निरन्तर जारी हुन्छ । गोरु पालक कृषकको सम्मानका लागि अनुदान वितरण गरिएको हो । निरास नहुनुहोस् काम गर्ने कृषकको साथमा गाउँपालिका छ ।’
अनुदान वितरण कार्यक्रम अन्तर्गत एक हल गोरु पाले बापत १० हजारका दरले दुई सय २४ कृषकले पालेका दुई सय ८९ हल गोरुका लागि १४ लाख, ४५ हजार रुपैयाँ अनुदान वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । कार्यक्रमले यस आर्थिक वर्षमा वडा नं १, २, ३, ४ का कृषक समेटिएका छन् ।

जसमा वडा नं १ मा ३२ गोरुका २४ कृषक, वडा नं २ मा ३६ गोरुका ३२ कृषक, वडा नं ३ मा ६६ गोरुकाा ५४ कृषक, वडा नं ४ मा ९५ गोरुका ७४ कृषक लाभान्वित भएका छन् । गाउँपालिकाले यस अघि गएको आर्थिक वर्षमा वडा नं ५ का ३० हल गोरु पालक ४० कृषकलाई प्रोत्सान अनुदान वितरण गरिएको थियो ।

अनुदान वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देऊ कुमारी गुरुङ्ग, वडा नं १,३,४,५का वडा अध्यक्ष, फेदीखोला पशु शाखा प्रमुख लगायतका कर्मचारी, हल गोरु पालक कृषकहरुको सहभागिता रहेको थियो ।





प्रतिकृया दिनुहोस्