‘आराध्या’ – बच्चाबच्चीहरूको मौन चिच्याहट
अनुपमा घिमिरे, काठमाडौं । बाहिरबाट हेर्दा सबै कुरा मिलेको देखिन्छ । सुविधा सम्पन्न परिवार, चिटिक्क परेको राम्रो घर, बच्चीको राम्रो पढाइ, उसलाई चाहिने जति लुगा, खेलौना सबै छ । विहान–साँझ खाना पकाउन गाह्रो होला कि भनेर कामदार पनि राखिएको छ यो घरमा ।
तर, त्यही घरभित्र कतै गहिरो एकान्त छ, जुन आम बच्चाहरूले भोगिरहेका छन् । त्यो मौन एकान्त, त्यो नबोलिएको चिच्याहट, त्यो अव्यक्त आक्रोश – यही वरिपरी घुमेको छ सर्ट फिल्म ‘आराध्या’को कथा ।
युट्युबमा हजारौँ कन्टेन्ट हुन्छन् – केही हेर्नलायक, केही स्किप गर्न लायक । तर ‘आराध्या’ भने त्यस्तो कन्टेन्ट हो, जुन परिवारसँगै बसेर हेर्नुपर्ने, अनि हेरेपछि केही बेर मौन भएर सोच्नुपर्ने कन्टेन्ट हो ।
मूल कुरा
१०–११ वर्षकी सानी बालिका द्रोथी शाह अर्थात फिल्मकी मुख्य पात्र ‘आराध्या’ । आराध्याकी बुबा एक सफल व्यवसायी, आमा व्यस्त चिकित्सक । दुबै जना दिनभर मात्रै होइन, रातमा समेत काममै व्यस्त छन् । पैसा कमाउने होड यस्तो छ कि छोरी कहाँ छ, के गरिरहेकी छे, केही सोच्ने फुर्सद नै छैन ।
आराध्यालाई खाना खुवाउने, लुगा लगाइदिने, स्याहार गर्ने जिम्मा घरकी कामदार कोपिला ‘सफु बुढाथोकी’को काँधमा छ । तर, बच्चा स्याहारले मात्रै हुन्न, मायाले नछोइँदासम्म उसको मनको घाउ भने भरिँदैन । मिठो खाना बेस्वाद लाग्छ, कपाल कोर्दा टाउको दुख्छ, कोपिलाले गर्ने हरेक काम–कुरा इरिटेट लाग्छ ।
घरमा आराध्याको जन्मदिनको माहोल छ । किचनमा मिठा परिकार बनेका छन् । स्कुलमा सँगै खेल्ने र पढ्ने साथीहरु आएका छन् । उनीहरुका बुबा आमा गिफ्टसहित आएका छन् । तर, आराध्याका आफ्नै आमा–बुबा यहाँ देखिएका छैनन् । आराध्याका बुबा आमालाई घण्टौं कुरेपछि कोपिलाले भनिन् – अब केक काटौं है नानु ? आराध्याको जवाफ – ‘मम्मी बाबा नभए म केक काट्दिन ।‘
त्यो संवाद साधारण जस्तो लाग्न सक्छ, तर वास्तवमा त्यो बच्चाको मौन चिच्याहट हो । त्यो पीडा हो – जुन आराध्याले हाँसेर होइन, चुपचाप भएर व्यक्त गर्छे । यो सर्ट फिल्म केहि समय अघि युट्युबमा सार्वजनिक गरिएको थियो । निकै राम्रो प्रतिक्रिया पाएको थियो । त्यसपछि विभिन्न ठाउँमा च्यारिटीका लागि उक्त च्यानलबाट हटाएर अहिले पुनः रि–रिलिज गरिएको हो ।
२३ मिनेट लामो यो फिल्म हेर्दा लाग्दैन कि यति छोटो अवधिमा यति गहिरो सन्देश दिन सकिन्छ । ‘आराध्या’ले प्रमाणित गरिदिएको छ – चलचित्रको प्रभाव समयको लम्बाइ होइन, कथा, प्रस्तुति र भावना मिल्दामा हुन्छ भन्ने कुरा ।

आराध्याको भूमिकामा रहेकी द्रोथी शाहको अभिनय सशक्त छ । उनको मौनता, आँखाको भाव, एक्लोपन – सबै दर्शकले महसुस गर्न सक्छ । सुरविना कार्की र आमिर गौतमले आमाबुबाको व्यस्त चरित्रलाई जीवन्त उतारेका छन् । सफु बुढाथोकीले कोपिलाको भूमिकामा घरको हेरचाह गर्ने घरेलु कामदारको पीडालाई राम्रोसँग व्यक्त गरेकी छन् ।
राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, संकल्प भुजेलको सिनेम्याटोग्राफी, अनि योगेश काजीको ब्याकग्राउण्ड म्युजिक – यी सबैले फिल्मको भाव अझै गहिरो बनाइदिएका छन् । निर्देशक तथा लेखक रामजी ज्ञवालीले बालमनोविज्ञान मात्र होइन, बच्चाहरूको भित्री मौन पीडा बुझेर फिल्म बनाएका छन् । संवादभन्दा दृश्य, भाव र मौनता धेरै बलियो देखिन्छ यो फिल्ममा ।
फिल्मले एकचोटि प्रश्न गर्छ – हामी सन्तानको ‘भविष्य’ बनाउन दौडिरहेका छौँ, तर उनीहरूको ‘वर्तमान’ कता हराउँदैछ ?
‘आराध्या’ एउटा बच्चाको कथा होइन, हाम्रै घरमा मौन बसेका ती छोरीछोराहरूको कथा हो – जसले कहिल्यै आमाबुबासँग आँखा जुधाएर कुरा गर्न पाएका छैनन् । जसले आमा बुबासँग घुम्न जान पाएका छैनन् । जसले बुबा आमासँग सपिङ जाँदा आइसक्रिम खान पाएका छैनन् । जसले घरमा बुबाको ढाडमा घोडा खेल्न पाएका छैनन्, जसले मम्मीको सारीमा सजिएर भाँडाकुटी खेल्न पाएका छैनन्, जसले बुबाको दारी जस्तै कलमले कोरेर बुबाका अगाडी कमेडीपन देखाएर रमाइलो गर्न पाएका छैनन् ।

आजको दौडधुपपूर्ण जीवनशैलीसँगै धेरै बुबाआमा आफ्ना सन्तानसँग भावनात्मक रूपमा टाढिँदै गएका छन् । ‘भविष्य उज्वल बनाउने’ नाममा दिनरात काममा व्यस्त रहने बुबाआमाले यदि समयमै आफ्ना छोराछोरीको एक्लोपन, भावना र व्यवहार बुझ्न सकेका भए—शायद उनीहरूलाई भविष्यमा एन्जाइटी, डिप्रेशनजस्ता गम्भीर मानसिक समस्यासँग जुध्नुपर्ने थिएन ।

समयमै सन्तानसँगको संवाद र आत्मीयता नै उनीहरूको सुरक्षित मानसिक भविष्यको आधार बन्न सक्थ्यो । यो सर्ट फिल्म हरेक आमाबुबाले हेर्नुहोस्,– अनि आफ्ना सन्तानसँग एकपटक आँखा जुधाएर उनीहरूको मौनता बुझ्ने प्रयास गर्नुहोस् । किनभने – बच्चाहरू सधैँ बोल्दैनन्, तर उनीहरू मौन भएर पनि चिच्याइरहेका हुन्छन् ।


प्रतिकृया दिनुहोस्