विनयी खोला पुल निर्माण कार्य सम्पन्न
काठमाडौं । बुटवल नारायणगढ पूर्व–पश्चिम राजमार्गस्थित दुम्कीबास सडक खण्डको विनयी खोलामा पुल कालोपत्रे गरेपछि निर्माणको काम सम्पन्न भएको छ । उक्त पुलबाट यातायात सूचारु गर्न लागिएको नारायणगढ–बुटवल सडक आयोजनाले बताएको छ ।
पाँच दशक पुरानो पुल भत्किएपछि डाइभर्सन बनाएर यातायात चलाइएको भएपनि पानीको वहाव उच्च भएर डाइभर्सन बगाइरहने समस्याले हरेक दिन जसो यातायात सञ्चालनमा सास्ती भईरहेको थियो ।
सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी शिव खनालले २४५ मिटर लामो पुल १९ गतेदेखि सञ्चालन गरिने बताए ।
७.५ मिटर चौडाइ भएको पुलको देब्रे भागमा फुटपाथसमेत रहेको छ । यो पुल नबन्दा खोलामा डाइभर्सन बनाएर निकै जोखिमपूर्ण रुपमा सवारी साधानहरु वारपार गर्दै आएका थिए । गत पुस २६ गते एक भारतीय ट्रकले पुरानो फलामे पुल भाँचिएपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो।
डाइभर्सन पटकपटक खोलाले बगाउँदा पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएको थियो । घण्टौंसम्म कयौं किलोमिटर लामो सवारी जाम हुँदै आएको थियो।
डाइभर्सनबाट जान नसक्ने साना सवारी साधनहरुले घुमाउरो सडकको प्रयोग गर्दै आएका थिए । अब पुल सञ्चालनमा आएपछि यात्रा सहज हुने भएको छ ।


प्रतिकृया दिनुहोस्