माओवादी केन्द्रमा बोल्न प्रतिबन्ध, प्रचण्डविरुद्ध बोले कारबाहीको डण्डा बर्साइने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)मा फरक मत राख्न र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बोल्न प्रतिबन्ध लगाइएको छ । पार्टीको नीति र निर्णयको हवला दिदैँ फरक मत राख्नेहरुलाई बोल्नमा रोक लगाइएको हो । अध्यक्ष प्रचण्डका विरुद्धमा सार्वजनिक रुपमा बोलेमा कारबाहीको डण्डा बर्साउने चेतावनी समेत आम पार्टी पंक्तिलाई दिइएको छ । माओवादी केन्द्रको यो निर्देशनले पार्टी भित्रको आन्तरिक लोकतन्त्रको धज्जी उडाएको छ ।
माओवादी केन्द्रको १६–१९ साउनमा बसेको स्थायी समितिको बैैठकले नेतृत्वका विरुद्धमा सार्वजनिक अभिव्यक्ति नदिन निर्देशन दिएको हो । पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) का बिचमा शक्ति संघर्ष चुलिदैँ गएको छ । शर्माले प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउँदै विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।
प्रचण्ड स्वंयले पार्टीभित्र गुटबन्दी गर्दै आएको भन्दै उनले सार्वजनिक रुपमा प्रश्न उठाउने गरेका छन् । उनले पार्टीका अधिवेशनहरु र जनवर्गिय संगठनहरुमा आफु पक्षिय नेताहरुलाई उम्मेदवार बनाउँदै पार्टीलाई जर्बजस्त निर्वाचनमा धकेल्दै आएका छन् । उनको यस गतिविधिप्रति अध्यक्ष प्रचण्ड असन्तुष्ट छन् । शर्मालाई गुटबन्दी गरेको र पार्टी हित विपरित गतिविधि गरेको आरोप लागेको छ । पछिल्लो स्थायी समिति बैठकमा शर्माको पक्षमा सचिव राम कार्की एकजना मात्रै उभिए भने अन्य सबै पदाधिकारी र स्थायी समिति सदस्यहरुले शर्मालाई आत्मआलोचना गर्न आग्रह गरे । तर उनी मानेनन् ।
सोही बैठकले शर्मालाई आइन्दा नेतृत्वको विरुद्धमा नबोल्न चेतावनी मात्रै दिएको छैन । त्यसरी बोलेमा कारबाही नै गर्ने निर्देशन जारी गरेको छ । यसरी शर्मालाई लक्षित गर्दै गरिएको निर्देशनले अन्य पार्टी कार्यकर्ताहरुले पनि पार्टीले गल्ती गरेको अवस्थामा बोल्न नसक्ने स्थिति सिर्जना भएको छ ।
स्थायी समिति बैठकको निर्णय जानकारी एवम् कार्यान्वयनका लागि भन्दै माओवादी केन्द्रले बिहीबार मातहतका समितिमा पत्राचार गर्दै उपमहासचिव शर्माले पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रुपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दिजन्य गतिविधिहरु सञ्चालन गरेको ठहर गरिएको बताएको छ ।
अध्यक्षमाथि प्रश्न उठाएको विषयलाई निराधार आरोप को संज्ञा दिदैँ आरोप खारेज गरिएको जनाइएको छ । ‘शर्माले माइन्यूटमा हस्ताक्षर नगरेको विषय बाहेक अन्य विषयहरुमा ठोस रुपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वका विरुद्ध निराधार आरोपहरु लगाउनुभयो ।
स्थायी समिति बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपहरुलाई खारेज गर्दै शर्मालाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ ।’ परिपत्रमा भनिएको छ, ‘आफ्ना भिन्न मत भए कमिटिमा विधिसम्मत् छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकतावद्ध बनाई अगाडि बढ्न पनि जोड दिएको छ ।’
अध्यक्ष प्रचण्ड आफु विरुद्धका समूह बढ्ने हो कि भन्नेमा सशंकित देखिन्छन् । यसकारण गुट र स्वार्थ समूहहरुको अलग बैठक बस्ने, पार्टीको आधिकारिक नीति, निर्णय पद्धति विपरित सामाजिक सञ्जाल लगायतबाट सार्वजनिक प्रचार गरी पार्टी र आन्दोलनलाई कमजोर पार्ने सबै प्रकारका गतिविधिमाथि रोक लगाइएको भनि परिपत्र गरिएको छ । ‘पार्टीको यो निर्णय र स्पिीरिट विरुद्ध गतिविधि गर्ने जो कसैलाई अनुशासनको कारबाहीको दायरामा ल्याइने निर्णय गरिएको छ ।’ माओवादी केन्द्रको निर्देशन छ ।
आफ्नो पक्षमा माहोल बनेका बेलामा प्रचण्डले स्थायी समितिबाट आफु अनुकुलको निर्णय गराएका छन् । शर्मालाई कारबाहीको डण्डा देखाएर भविष्यमा आफु माथि प्रश्न उठाउन सक्ने नेताहरुलाई तर्साउन खोजेका छन् । ‘छोरी कुटेर बुहारी तर्साउने’ नेपाली उखान चरितार्थ हुनेगरी आफुमाथि प्रश्न उठाउनेहरुको आवाज निमिट्यान्न पार्न उनी उद्यत देखिएका छन् ।
नेकपा(माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यले पछिल्लो परिपत्रले पार्टीभित्र नेतृत्वले गलत गरेको ठाउँमा पनि बोल्न नसकिने अवस्था बनेको बताए । उनले पार्टी लोकतान्त्रिक मूल्य, मान्यताबाट च्यूत भएको टिप्पणी गरे । ‘पार्टी र नेताले सधैँ राम्रो काम गर्छन् भन्ने होइन । कार्यकर्ताहरुको कुनैपनि विषयमा फरक धारणा हुनसक्छ । तर त्यसलाई पार्टी विरोधी विचार भनेर निषेध गर्न खोजियो ।’ उनले भने, ‘यसले पार्टीलाई राम्रो गर्दैन ।’
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्णय विरुद्ध बोल्ने नेताहरुलाई कारबाहीको दायरामा ल्याइने बताए । उनले पछिल्लो स्थायी समिति बैठकको निर्णय उल्लङ्घन गर्ने नेताहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका हुन् । अब पनि पार्टीभित्र गुटबन्दी दोहोरिए बारबाही हुने उनको चेतावनी छ ।


प्रतिकृया दिनुहोस्