राप्रपामा शक्ति सङ्घर्ष : लिङ्देन–राणाको लडाँइले तल्लो तहसम्म विभाजित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र मौलाएको गुटको राजनीति पार्टीको तल्ला कमिटीसम्म देखिएको छ । पार्टीका तल्ला तल्ला कमिटीसम्म महामन्त्री धवल शमशेर राणाले गुट खडा गरेपछि पार्टीभित्र दुईलाइन सङ्घर्ष औपचारिक रुपमा सुरु भएको छ ।
खासगरी पार्टीभित्र अध्यक्ष र महामन्त्री संस्थापन देखिन्छन् । अध्यक्ष र महामन्त्रीले साझा रुपमा पार्टीको नेतृत्व गर्छन् । तर राप्रपामा अध्यक्ष र महामन्त्री आ–आफ्नो तरिकाले छुट्टाछुट्टै अगाडी बढिरहेका छन् । दुवैले छुट्टाछुट्टै भेला, छुट्टाछुट्टै बैठक गर्दै आएका छन् । बुधबार पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा देखिएको दृश्यले राप्रपा स्पष्ट रुपमा विभाजनतर्फ अग्रसर देखिएको छ । यसप्रकारको विद्रोह र असमझदारी बढ्दै गएमा पार्टीका अरु भातृ संगठनहरुमा यही अवस्था देखिने निश्चित छ ।
राणा पक्षले अध्यक्ष लिङ्देन पक्षले एकलौटी प्रतिनिधिहरु ल्याएको भन्दै कार्यक्रममा विद्रोह ग¥यो । कार्यक्रम हुन दिएन । लिङ्देनले छलफलबाट समस्याको समाधान गर्ने भनेपनि उनीहरुले सुनेनन् । छलफलमा नआएपछि अधिवेशन नै रोक्ने घोषणा गरेर अध्यक्ष लिङ्देन कार्यक्रम स्थलबाट बाहिरिए । तर राणा पक्षले उनको आदेशको अवज्ञा गर्दै ज्योति लामाको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्य समिति गठन गरेको घोषणा गरे ।
अर्थात् युवा संगठन काठमाडौँ विभाजन भयो । आजसम्म यसरी अध्यक्षको निर्देशनको विपरित राप्रपामा नयाँ समिति बनेको थिएन । पहिलो सुरुवात् भएको र यसको सन्देश पनि राम्रो गएको छैन । अध्यक्ष राजेन्द्र लिङ्देनले आयातित मानिसहरुले कार्यक्रम भाँडेका भन्दै छानविन गर्ने बताएका छन् ।
युवा संगठन काठमाडौँको अधिवेशन लिङ्देन–राणा शक्ति संघर्षको चरम रुप देखिएको मात्रै हो । पार्टीभित्र एकले अर्कोलाई स्वीकार नगर्ने अवस्था रहेको छ । गत वर्ष राणा क्यान्सरको उपचारका लागि भारत गएको बेलामा उनको संगठन विभागको प्रमुखको जिम्मेवारी खोसेर वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई दिइएको थियो । पछि राप्रपाले आन्दोलन परिचालन कमिटीको संयोजक बनाएको थियो । तर राणाले नवराज सुवेदीको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको पनि आन्दोलन परिचालन समितिको जिम्मेवारी लिए ।
सो कुरा लिङ्देनलाई मन परेको थिएन । लगत्तै उनले पार्टीको आन्दोलन परिचालन कमिटीको संयोजकबाट राणालाई हटाए र आफैँलाई राखे । यसरी विवाद चर्किदै गएपछि नवराज सुवेदीलाई पार्टीको अनुशासन आयोगको अध्यक्षबाट हटाए । प्रवक्ताबाट सगुन सुन्दर लावती हटाइए । लिङ्देनको यस्तो निर्णयको विरुद्ध उनीहरुले निर्वाचन आयोग समेत गुहारेका छन् ।
पछिल्लो समय अध्यक्ष लिङ्देनले आफ्ना समूहको मात्रै बैठक राख्ने गरेका छन् । राणाले पनि त्यसै गर्छन् । सामुहिक छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका छन् । महामन्त्री धवल शमशेर राणाले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने तयारी गरेपछि लिङ्देनको पेलानमा परेका राप्रपाका नेता, कार्यकर्ताहरुले बताउने गरेका छन् । यता, महामन्त्री राणाले पनि पार्टी अध्यक्षको नेतृत्वलाई मान्दै अगाडी बढ्नुपर्नेमा त्यसो नगरेका कारण पार्टीमा समस्या उत्पन्न भएको नेताहरुको भनाई छ ।
केही नेताहरुले राणा र लिङ्देनलाई मनाउने प्रयास गरेको भएपनि उनीहरुका बिचमा सम्वाद नै गराउन नसकिएको बताइएको छ ।


प्रतिकृया दिनुहोस्