माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. रामकण्ठ माकजू श्रेष्ठ र पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्नुभएको छ।
नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सोमबार काठमाडौंमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवैलाई सम्मानपत्रसहित सम्मान प्रदान गर्नुभएको हो।
वि.सं. २०८१ को हेमबहादुर मल्ल सम्मान डा. माकजू श्रेष्ठलाई र वि.सं. २०८२ को सम्मान रामेश्वरप्रसाद खनाललाई प्रदान गरिएको हो। धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालन र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा पुर्याएको योगदानका लागि माकजू श्रेष्ठ तथा सार्वजनिक प्रशासन, नीति निर्माण र सार्वजनिक सेवाको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानका लागि खनाललाई सम्मान गरिएको हो।
सम्मानसँगै दुवैलाई जनही दुई लाख रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ। हेमबहादुर मल्लको स्मृतिमा स्थापना गरिएको यो सम्मान नेपाल जन–प्रशासन संघले साल्ट ट्रेडिङ कर्पोरेशनसँगको सहकार्यमा प्रदान गर्दै आएको छ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आधुनिक प्रशासन र व्यवस्थापनमा प्रविधिको विकाससँगै नैतिकता, आचरण र इमान्दारीको महत्व झन् बढेको बताउनुभयो।


लेखकको सम्वन्धमा